आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन गर्दै रुकुमपश्चिम

स्काई न्यूज / असोज १०, रुकुमपश्चिम ।
रुकुम पश्चिममा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन भइरहेको छ । कृषि विकास कार्यालयका अनुसार खाद्यान्नमा आत्मनिर्भर यस जिल्लामा वर्षमा आवश्यकताभन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ७० हजार ९२ जिल्लावासीलाई ३४ हजार १८८ मेट्रिक टन खाद्यान्न आवश्यक रहेकामा ३५ हजार ७६० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । जिल्लामा बर्सेनि खाद्यान्न पुगेर बचत हुने गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।

गत वर्ष एक हजार ५७२ मेट्रिक टन धान, गहुँ, मकैलगायतको खाद्यान्न बचत भएको थियो । जिल्लामा सबैभन्दा बढी गहुँ उत्पादन हुने गरेको छ । चार हजार ५८९ हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकामा गत वर्ष २७ हजार ८५९ मेट्रिक टन गहुँ उत्पादन भएको केसीले बताए ।

त्यस्तै १४ हजार ९८८ मेट्रिक टन मकै, नौ हजार ७५६ मेट्रिक टन धान, एक हजार ११ मेट्रिक टन कोदो र एक दशमलव ८० मेट्रिक टन फापर उत्पादन भएको कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा मकै चार हजार ६८ हेक्टर, धान तीन हजार ४८ हेक्टर, कोदो ३६९ हेक्टर, जौँ ३६७ हेक्टर र फापर दुई दशमलव पाँच हेक्टर जमिनमा खेती हुने गरेको छ । उर्वर भूमि र बाँझो जमिनको उपयोगलाई बढाइएका कारण खाद्यान्न उत्पादन बढिरहेको बताइएको छ ।

Translate »