नेपाल–चीन सीमा छुट्याउने सीमा स्तम्भ भटियो

 

 

स्काई न्यूज / असोज ८, हुम्ला ।
उत्तरी चीन सिमाना अनुगमनमा गएको नेपाली टोलीले चीनसँग सीमा जोडिएको ११ नम्बर सीमा स्तम्भ भेटाएको छ । उक्त सीमास्तम्भ ०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । करिब ५८ वर्षपछि नेपाली टोलीले उक्त सीमास्तम्भ भेटेको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । हुम्लाको लाप्चा नाकामा चीनले सीमा मिचेर नेपाली भुमिका ११ वटा भवन निर्माण गरेको कुरा बाहिरिएपछि गत आइतबार हुम्लाका प्रजिअ गिरी सहित ३१ सदस्यीय टोली सीमा अनुगमनका लागि गएको थियो । चिनियाँ पक्षले नेपाली भूमि मिचेर भवन नबनाएको दाबी गरेपछि नेपाली टोली हराएको ११ नम्बर सीमा स्तम्भ खोज्न सुरु गरेको थियो । सोही क्रममा हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको प्रजिअ गिरीले जानकारी दिए । उहाँका अनुसार सीमा प्रहरी चौकी, हिल्सा नाकाभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । चीनसँगको सिमानामा १५ वटा सीमास्तम्भ छन् । तीमध्ये ११ नम्बर सीमास्तम्भ हराएको थियो ।

करिब ६ दशकपछि चीनसंग सीमा जोडिएको स्तम्भ भेटाउन सफल भएको समेत उनको भनाई छ ।११ नम्बर सीमास्तम्भ नभेटिँदा चीनले सीमा क्षेत्रमा बनाएका संरचनाबारे विवाद उत्पन्न भएको थियो । हुम्लाको नाम्खा गाउँपालिका ६ लाप्चा उपत्यकाको लोलुङजोङमा चीनले ११ वटा भवन बनाएको छ । स्थानीय बासिन्दाले ती भवन नेपाली भूमिमा बनाएको बताउँदै आएका थिए भने चीनले त्यसलाई आफ्नो जमिन दाबी गरिरहेको छ । विवाद उत्पन्न भएपछि हुम्लाका प्रजिअ गिरीको नेतृत्वमा सुरक्षाकर्मीको टोली लोलुङजोङ पुगेको थियो । सीमा स्तम्भ भेटिएसँगै नेपाल चीन सीमा विवाद मत्थर बनेको छ । यता परराष्ट मन्त्रालयले समेत चीनले भवन बनाएको जमिन नेपालको नभएको स्पष्ट पारेको छ । परराष्ट्रले बुधबार विज्ञप्ती जारी गर्दै सीमास्तम्भ ११ र १२ को अध्ययन र जाँचपड्तालपछि चीनले उसकै भूभागमा भवन बनाएको उल्लेख गरिएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि चीनले आफ्नै भूमिमा भवन निर्माण गरिएको जिकिर गरेको छ । दूतावासले नेपालसँग चीनको कुनै सीमा विवाद नभएको र नेपालसँग कुनै प्रश्न भए निरुपण गर्न सकिने बताएको छ ।

Translate »