स्वाब परिक्षण : सरकारीमा छुट, नीजिमा बम्हलुट

२ हजार शुल्कमा ५ हजार असुल्दैं नीजि प्रयोगशाला, सरकारीमा समन्वय अभावले ढिलाई : चिकित्सक

 

असोज ७,नेपालगन्ज ।
बाँके लगायत देशका विभिन्न जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । संक्रमित बढेसँगै स्वाब परीक्षणको रिपोर्ट ढिलो आउन थालेको गुनासो पनि आइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको लक्षण नदेखिएसम्म पीसीआर परीक्षण नगर्न मातहतका निकायलाई परिपत्र गरिसकेको छ । तर, परीक्षण गरिएकाहरुको रिपोर्टमा समेत ढिलाइ हुन थालेपछि संक्रमितको पहिचानमा ढिलाई भैरहेको छ । यसले संक्रमित दर बढ्ने खतरा देखिदै आएको छ ।
सरकारी प्रयोगशालामा पीसीआर परीक्षणको रिपोर्ट ढिलो आउने गरेको जनगुनासो व्याप्त छ । बाँकेको भेरी अस्पतालसहित देशका विभिन्न भागमा ५० भन्दा बढी सरकारी र निजी प्रयोगशालामा पीसीआर परीक्षण गरिदै आएको सरकारी रेकर्ड छ । सरकारी प्रयोगशालामा परीक्षणको रिपोर्ट आउन ३ देखि ५ दिनसम्म लाग्ने गरेको छ । भेरी अस्पतालमा केही दिनअघि नेपालगन्जका मीन मल्लले आफनो रिर्पोट चार दिन पछिआएको सामाजिक सन्जाल फेसबुकमै सार्वजनिक गुनासो गरेका थिए । सरकारीको तुलनामा निजि अस्पताल र प्रयोगशालामा स्वाब परिक्षणको रिर्पोट छिटो आउने गरेको नागरिक बताउँछन् । तर, दुई हजारमा हुने परिक्षणमा नीजि प्रयोगशालाले ५ हजारसम्म लिने गरेका छन् । बाँकेका सरकारी अस्पताल भेरी र नेपालगन्ज मेडिकल कलेजले भने सरकारी मापदण्ड अनुसार तोकेअनुसार दुई हजारमै स्वाव परिक्षण गरिरहेका छन् ।
नीजि प्रयोगशालाले स्वाब परिक्षणका नाममा बम्हलुट मच्चाईरहेको नागरिकको गुनासो छ । स्वाब परिक्षण भन्दै सरकारले तोकेको मूल्यभन्दा तेब्बर मूल्य लिदा समेत बाँके प्रशासन र नागरिक समाज तथा बजार अनुगमनका नाममा बेमौसमी बाजा बजाउँनेहरू निदाईरहेको जनगुनासो छ । निजी अस्पतालका ल्याबहरूले ६ देखि १२ घण्टामा परीक्षणको रिपोर्ट दिने गरेका छन् । तर, २ हजारमा हुँदै आएको कोरोना परीक्षण उनीहरुले ५ हजार रुपैयाँसम्म असुल्ने गरेका छन् । स्वाब संकलनदेखि परीक्षण रिपोर्ट व्यक्तिसम्म पु¥याउन सम्बन्धित निकायहरूले समन्वय नगर्दा रिपोर्ट थाहा पाउन ढिलो हुँदै आएको देखिएको छ । कुनै प्रयोगशालामा स्वाब कम हुने, कुनैमा क्षमताभन्दा धेरै हुने भएकाले बिरामीले रिपोर्ट पाउन ढिला भएको हुन सक्ने चिकित्सक बताउँछन् । कन्ट्याक्ट टे«सिङमा परेर, लक्षण देखिएर, संक्रमितको सम्पर्कमा आएको आशंका लागेमा स्वाब संकलन गरेर प्रयोगशालामा पठाइन्छ । तर, समयमै रिपोर्ट नआउँदा संदिग्ध संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरु पत्ता लगाउन र उनीहरुको स्वाब नमूना संकलन गरी परीक्षणका लागि पठाउन स्वाभाविक रुपमा ढिला हुने भएकाले संक्रमण फैलने खतरा बढ्ने विज्ञहरुको भनाइ छ । स्वाब संकलन गर्ने निकायले समन्वय नगरिकन पीसीआर परीक्षण गर्न पठाएका कारण रिपोर्ट आउन ढिला भएको प्रयोगशाला एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउने गरे पनि स्थानीय तहहरूले प्रयोगशालालाई नै दोष दिने गरेका छन् । स्वाब संकलन गर्ने निकायदेखि परीक्षण गर्ने प्रयोगशाला र जानकारी लिनेदिने तथा कन्ट्याक्ट टेसिङ गर्ने इडिसिडिले नियम तथा प्रक्रिया तोकेर काम गर्न नसक्दा पीसीआर रिपोर्ट थाहा पाउन ५/६ दिन लाग्ने गरेको छ ।

स्वाब संकलन गर्ने र परीक्षण स्थलसम्म एउटै टिम वा व्यक्ति संलग्न भएको खण्डमा परीक्षण रिपोर्ट छिटै आउन सक्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डाक्टर रुना झा बताउँछिन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ल्याबमा भने सिधै बिरामीले स्वाब परीक्षण गराउन पाउँछन् । बाहिरबाट संकलन गरेर ल्याएको स्वाब परीक्षण गर्नु नपर्ने भएकाले धेरैजसो स्वाबको रिपोर्ट ४७ घण्टाभित्र आउने सिनियर ल्याब टेक्निसियन परमानन्द भण्डारी बताउँछन् । कुनैकुनै नमुनालाई दोहो¥याएर परीक्षण गर्दा रिपोर्ट आउन कहिलेकाहीँ ढिला हुन सक्ने उनको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशका विभिन्न भागबाट स्वाब परीक्षणका लागि पठाउने गरिन्छ । संकलन गरेको १२ घण्टामा प्रयोगशालामा स्वाब आइपुग्नुपर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डाक्टर राजेशकुमार गुप्ता बताउँछन् । स्वाब संकलन गरेको १२ घण्टाभन्दा बढी समयपछि आइस पग्लिएर स्वाब परीक्षण गर्न नमिल्ने उनको भनाइ थियो । उपत्यका वरिपरिका जिल्लामा संकलन भएका स्वाबलाई प्रयोगशालासम्म पु¥याउन बढीमा ४/५ घण्टा लाग्छ । डा गुप्ताका अनुसार बढीमा १२ घण्टाभित्र प्रयोगशालामा स्वाब आइपुग्छ । धेरै टाढाका जिल्लाबाट स्वाब संकलन गरेर ल्याउनु पर्ने अवस्थामा तापक्रम मेन्टेन गरिन्छ जसले गर्दा स्वाब नबिग्रिने उनको भनाइ छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला देशका विभिन्न भागबाट हजारौँ स्वाब परीक्षणको लागि आउने हुँदा केही बढी समय लाग्ने उनको भनाइ छ । निजी ल्याबमा भने कम नमुना आउने हुँदा ६ घण्टामा परीक्षण गरेर दर्ता गर्ने, भेरिफिकेसन गरेर २४ घण्टामै रिपोर्ट दिन सम्भव हुने उनी बताउँछन् । (ई -सेतोखरी)

 

Translate »