विद्यालयबाट क्वारेनटाइन हटाएर निर्मलीकरण गरिँदै

स्काई न्यूज / असोज ७,सल्यान ।
सल्यानका स्थानीय पालिकाहरुले विद्यालयमा बनाएका क्वारेनटाइन हटाएर निर्मलीकरण गर्न थालेका छन् । संघीय सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम सल्यानका स्थानीय पालिकाहरुले विद्यालय हातामा सञ्चालित क्वारेनटाइन हटाएका छन् । क्वारेनटाइनमा बसेका सबै घर फर्किएपछि खाली भएका क्वारेनटाइन निर्मलीकरण गरिएको कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए । उनले भने ‘विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन खाली भएपनि अब आउनेलाई अन्यत्र व्यवस्थापन गर्ने गरी विद्यालय निर्मलीकरण गर्दै आइरहेका छौं ।’आउँदै गरेको चाडपर्वलाई लक्षित गरी खुल्ला ठाउँ तथा सामुदायिक भवनहरुमा क्वारेनटाइन निमार्ण गर्ने गरी विद्यालयमा बनाइएका क्वारेनटाइन हटाइएको उहाँको भनाई छ ।

विद्यालय कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषयमा छलफलमै रहेको बताउँदै विद्यालय सञ्चालनको तयारी स्वरुप क्वारेनटाइन हटाइ निर्मलीकरण गरिएको केसीको भनाई छ । यस्तै कुमाख गाउँपालिकाले पनि विद्यालयमा निमार्ण भएका क्वारेनटाइन हटाएर निर्मलीकरण गर्दै आइरहेको छ । गाउँपालिकाका विभिन्न विद्यालयमा रहेका क्वारेनटाइन सामुदायिक भवन तथा सार्वजनिक भवनहरुमा स्थानान्तरण गरी विद्यालयमा भएका क्वारेनटाइन सेनिटाइज गरिएको गाउँपालिका सूचना अधिकारी प्रकाश भण्डारीले बताए । गाउँपालिका भित्रका विभिन्न २१ विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइन हटाइएको र अब एक विद्यालयबाट मात्र हटाउन बाँकी रहेको भण्डारीको भनाई छ । क्वारेनटाइन कक्ष राखेका र नराखेका सबै विद्यालयमा निर्मलीकरण गरिएको उनको भनाई छ । विद्यालयमा निमार्ण गरिएका क्वारेनटाइनहरु अन्यत्र व्यवस्थापन गर्दै आइरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । सल्यानमा एक सय ५५ विद्यालयमा क्वारेनटाइन र आइसोलेसन निमार्ण गरिएको थियो ।

 

Translate »