शनिवारसम्म देशभर वर्षा हुने

असोज ७, काठमाडौं ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिवारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिवारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मनसुन बाहिरिने औसत समय बुधवार अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । ‘शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ’, मौसमविद् कँडेलले भनिन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, ५, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Translate »