विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित पुस्तक सार्वजनिक

असोज ७,काठमाडौँ ।
विज्ञान दिवसको अवसर पारेर विज्ञान, कोरोना र परम्परागत ज्ञानसँग सम्बन्धित ३ वटा पुस्तक सार्वजनिक भएको छ । विगत ३५ वर्षदेखि वातावरण र संरक्षणको क्षेत्रमा काम गर्दै आएको रिसोर्सेस हिमालय फाउन्डेशनले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वयमा ती पुस्तक सार्वजनिक गरेको हो । फाउण्डेशनले तामाङ समुदायहरुले प्रयोग गर्ने परम्परागत ज्ञान र उपचार पद्धति सम्बन्धीको तामाङ समुदायको परम्परागत ज्ञान र मुख्य उपचार पद्धतिुको पुस्तक सार्वजनिक गरेको छ । डा.कमल अधिकारीद्वारा लिखित यस पुस्तकमा तामाङ समुदायहरुले १ सय ११ वटा वनस्पति उपचार पद्धतिमा प्रयोग गर्ने गरेको उल्लेख छ । किताबमा तामाङ समुदायले विभिन्न ८ जीवहरु पनि उपचार प्रणालीमा प्रयोग गर्ने गरेको उल्लेख छ । ती प्राणीहरुको अंगहरुलाई तामाङ समुदायले उपचारका क्रममा प्रयोग गर्ने किताबमा उल्लेख छ ।

तामाङ समुदायले ३३ किसिमका स्वास्थ्य समस्याहरुका लागि यी जटिबुटी तथा वन्यजन्तुको अंग प्रयोग गर्ने गरेको किताबमा उल्लेख छ । यस्तै, छैटौं राष्ट्रिय स्‍नातकोत्तर विद्यार्थी सम्मेलन-हिमालयन नलेज कन्क्लेभ मा प्रस्तुत भएका एक सय ५ वटा शोधपत्रहरुलाई समावेश गरेर सारंश संग्रहु नामक पुस्तक विमोचन गरिएको छ । किताबमा विद्यार्थीहरुले विज्ञान,प्रविधि,प्रदूषण र व्यवस्थापन,जैविक विविधता,अर्थतन्त्र,मौलिक ज्ञान,स्वास्थ्य तथा चिकित्सा विज्ञान सम्बन्धी अनुसन्धानका विषयहरु समावेश भएको फाउण्डेशनका महासचिव प्राडा दिनेशराज भुजुले बताए । कोभिड–१९ को रोकथामका लागि युवा वैज्ञानिकहरुको सञ्जाललाई परिचालन गरि तयार पारिएको बिल्डिङ साइन्स चेजिङ कोरोना भाइरसु नामक किताब सार्वजनिक गरिएको थियो । किताबमा कोरोनाले पारेको असर,कोरोना कालमा वन्यजन्तु संरक्षणमा देखिएका चुनौतीहरु,कोरोनाले पानीको प्रयोगमा पारेको प्रभावबारे उल्लेख रहेको फाउण्डेशनका कार्यक्रम निर्देशक डा. दिनेश न्यौपानेले बताए । विज्ञान दिवसको अवसर पारेर फाउण्डेशनले आयोजना गरेको ग्रायज्युएट कन्फ्रेन्समा नेपालसहित अमेरिका,युके,चीन, जापान, दक्षिण कोरिया, जर्मनी, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, केन्या, पेरु, कोलोम्बिया, स्वीडेन र भारतका अनुसन्धानकर्मीहरुले मुख्य प्रस्तुति दिएका थिए । विज्ञान दिवसकै अवसर पारेर नाष्टले ३ वर्षपछि आफ्नो जर्नल र विज्ञान लेख माला सार्वजनिक गरेको थियो ।

 

Translate »