बस पनि गुडेनन्, जहाज पनि उडेनन्

कर्णालीमा कोरोना सन्त्रास कायमै .........

स्काई न्यूज /असोज १, सुर्खेत ।
विहीबारदेखि यात्रुबाहक सवारी साधन चल्ने हल्ला भएपनि सुर्खेतबाट लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउन सकेनन् । सुर्खेत भएर काठमाडौं, चितवनका लागि बस छुटाउन आवश्यक प्राविधिक तयारीसँगै यात्रुको अपर्याप्तताले लामो दुरीका सवारी साधन गुड्न नसकेका हुन् । कोरोना भाइरस संक्रमणका कारण झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक सवारी बिहीबारपनि संचालनमा आउन नसक्दा काठमाडौं जाने केही यात्रु निरास देखिएका थिए । लामो दुरीका लागि ती सवारी साधन पुनः संचालनमा ल्याउनका लागि प्राविधिक चेकजाँच लगायतका काम बाँकी रहेकाले अब असोज ६ गते सञ्चालनमा ल्याउने तयारी भएको व्यवसायीहरुले बताएका छन् । ‘हरेक दिन सुर्खेतबाट छुट्ने यात्रुबाहक बसलाई हामी डिसइन्फेक्ट गछौं,’ सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘गाडी छुट्नु अघि बसपार्कमा डिसइन्फेक्ट गरेर मात्रै यात्रु चढाईनेछ । चालकलाई मास्क अनिवार्य गरिरहेको छ । सह–चालकलाई पनि माक्स अनिवार्य छ । क्याविनको सिटलाई गणना गरिने छैन् । यात्रु सबैलाई मास्क बिना यात्रा गराउँदैनौं ।’ उनले विश्वकर्मा पूजासँगै अन्य आवश्यक प्राविधिक तयारी पुरा गर्नुपर्ने भएकाले विहीबार लामो दुरीका गाडी छुट्टाउन नसकिएपनि असोज ६ गतेदेखि नियमित क्यूमा गाडी चलाउँने जनाए । उनका अनुसार ग्रामिण भेगका सबै रुटमा पनि नियमित गाडी चल्ने छन् । केही दिन क्यू फ्रि गछौं । त्यसपछि नियमित क्यूमा पालो अनुसार गाडी चल्छ । पहिले गाडी चलेका र अहिले सडक अवस्था राम्रो भएका सबै रुटमा बस छुटाउने उनले बताए । अहिले संक्रमण तीव्र रुपमा बढिरहेकाले यात्रु पनि हत्तपत्त यात्रामा निस्किन नचाहेको अध्यक्ष सापकोटा बताउँछन् । ‘मानसिक रुपमा यात्रुलाई त्रास छ । ५० प्रतिशत भाडा थप्दा पनि यात्रु अभावमा इन्धन खर्च पनि पुग्दैन,’ उनले भने, ‘गुडेका गाडीको इन्जिन चल्यो भन्ने मात्र अवस्था छ । यात्रु अभावमा केहीदिन चलाएर गाडी थन्काउनुपर्ने त्रास बढेको छ ।’

भाडा भने पहिलेको भन्दा ५० प्रतिशत थप लाग्नेछ । सिट क्षमता ४० भएका गाडीले २० जना मात्र यात्रा गराउन सरकारले ब्यवसायीलाई अनुरोध गरेको छ । चैत दोस्रो सातादेखि बन्द रहेको सुर्खेतको लामो दूरी करिब साढे ६ महिनापछि असोज ६ गतेबाट संचालनमा आउने छन् । स्थलमार्गमा लामो दुरीको सवारी संचालनको अनुमति दिएपनि पूर्व तयारीसँगै यात्रु निकै नै कम संख्यामा रहेकाले लामो दुरीका सवारी साधन चलाउन नसकिएको देउती नागरिक यातायात प्रालिले बताएको छ । प्रालिका अनुसार विहीबार सुर्खेत–काठमाडौं रुटमा बस सञ्चालन गर्ने योजना बनाएपनि पर्याप्त यात्रु नहुँदा पठाउन नसकिएको हो । ‘असोज ५ देखि मात्र स्थल र हवाई मार्ग खुल्ने भन्ने सुरुको हल्ला थियो । तर, विहीबारदेखि संचालन गर्न दिँदा यात्रु पनि अन्योलमा परेका हुन सक्छन,’ देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले भने, ‘यात्रुको आकार बढ्दै जाने अपेक्षामा छौ ।’ बिहीबार सुर्खेतबाट काठमाडौं जाने यात्रुमा ४ जना मात्र सम्पर्कमा आएका थिए । लकडाउनका कारण झन्डै ६ महिना रोकिएका ती सवारी यात्रु बोक्न लायक बनाउन प्रत्येक गाडीका लागि कम्तिमा डेढलाख रुपैयाँका दरले खर्च लाग्ने अध्यक्ष खड्काले बताए । ‘डेढलाख रुपैयाँ खर्चेर व्यवसायीले लामो समय थन्किएका गाडी गुड्नलायक बनाएका छन् । यात्रु भने निकै नै कम छन,’ उनले भने, ‘यात्रुको संख्या बढेन भने खर्च धान्न पनि सकस पर्नेछ । संक्रमणको गति बढिरहेकोले यात्रु यात्रामा निस्किन डराएका हुन सक्छन् ।’ निकै नै चुनौतीका बाबजुत बस संचालनमा ल्याउने तयारी भएको उनले बताए । अरुबेला सामान्य अवस्थामा सुर्खेत–काठमाडौ–पोखरा रुटमा झन्डै ४० (एकतर्फि २०) वटा ठुला आकारका बस संचालन हुने गरेका थिए । अहिले सुर्खेतका यातायात व्यवसायीहरु कार्यगत एकता गरेर पालैपालो दिनमा यात्रुको चाप हरेर कम्तीमा दैनिक ३÷४ वटा लामो दुरीका बस गुडाउने योजना बनाएका छन् । त्यस्तै हवाई यातायात भने अझै सुचारु हुन सकेको छैन । सरकारले विहीबारदेखि लामो दुरीको सार्वजनिक सवारी र हवाई यातायात संचालन गर्न अनुमति दिएपनि विहीबार सुर्खेत विमानस्थलबाट कुनैपनि हवाई उडान हुन सकेनन् । हवाई उडान भने अझै अनिश्चित छ । हवाई उडानका लागि सरकारले भने झैं आधा (५० प्रतिशत) संख्यामा बोक्दा यात्रुलाई भाडा दोब्बर पर्न जाँदा अभाव हुने भएकोले त्यो निर्णय व्यवहारिक नभएको हवाई कम्पनिले बताउँदै आएका छन् । ५० प्रतिशत मात्र यात्रु बोक्ने प्रावधान मान्य नभएको हवाई कम्पनिले बताउँदै आएका छन् । पुर्ण क्षमतामा यात्रु बोक्न पाउनुपर्ने हवाई कम्पनिले माग राख्दै आएका छन् ।

Translate »