किसानलाई क्रेडिट कार्ड वितरणको तयारी

किसानलाई सहुलियत कर्जा दिन सहयोग पुग्ने अपेक्षा

स्काई न्यूज / असोज १, काठमाडौं ।

कृषि ऋणमा किसानको सहज पहुँच पुर्याउने उद्देश्यले जारी हुन लागेको किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले कार्ड जारी गर्ने अधिकार कृषि विकास बैंकलाई दिएपछि प्राविधिक तयारी भइसकेको र कार्यविधि पूरा हुन केही समय लाग्ने बैंकले जनाएको छ ।

कृषि विकास बैंकका अनुसार यस्तो कार्डमार्फत किसानले करीब ५ हजार रुपैयाँ बराबरको कर्जा प्रयोग गर्न सक्छन् । किसान क्रेडिट कार्डसम्बन्धी कार्यविधि तथा सञ्चालक समितिले यसमा फेरबदल गर्न सक्ने बैंकले जनाएको छ । क्रेडिट कार्डबाट किसानले तोकिएको रकम बराबरको मल, बीउबिजन खरीद गर्न सक्नेछन् ।

कार्डसँगै बैंकले एप्स् पनि बनाएको छ, जसबाट किसानले तरकारीलगायत उत्पादनको बजार मूल्य, मौसम, बीउबिजनको मूल्य लगायतबारे जानकारी लिन सक्नेछन् । यो एप्स् व्यावसायिक किसानले लाभ लिन सक्ने भए पनि स्मार्ट फोन प्रयोग नगर्ने किसानका लागि उपयोगी नहुने उनको भनाइ छ ।

किसानले बैंकबाट कर्जा स्वीकृति गराएपछि कार्डमा कर्जाको रकम लोड गरिन्छ र किसान एपमा ऋणी किसानको प्रोफाइल तयार हुन्छ । किसानले लिएको कर्जा, सरकारबाट पाएको अनुदान, कृषि औजारको उपलब्धता, उत्पादनको बजारीकरण र मूल्यसमेत ड्यासबोर्डमार्फत किसानले जानकारी पाउन सक्छन् ।

भारतले लामो समयदेखि किसान क्रेडिट कार्डमार्फत किसानलाई कर्जा लिने सुविधा दिँदै आएको छ । साढे २ करोड किसानबाट शुरू गरेको यो योजना करीब ९ करोड जनतामा पुगेको छ । भारतमा किसानको नाममा बैंकले सहुलियत ब्याजदरसहित विनाधितो भारू २ लाखको क्रेडिट कार्ड उपलब्ध गराइदिने व्यवस्था छ ।

भारतमा किसानले यो कार्डमार्फत बीउबिजन, मल, सिँचाइ तथा बिजुलीको बिल र ज्यालाको भुक्तानी गर्न सक्छन् । किसानले यो कार्डबाट वार्षिक भारू १ लाख ६० हजारसम्म खर्च गर्न सक्ने र उत्पादनपछि तिर्न सक्ने व्यवस्था छ । ४ प्रतिशत सहुलियत ब्याजदरमा पाउने यो कर्जा समयमै भुक्तानी गरेमा थप ३ लाखसम्म कर्जा सीमा बढाउने सुविधा छ ।

नेपालमा पनि कार्ड कार्यक्रमले कृषिमा क्रान्ति नल्याए पनि किसानका लागि भने धेरै फलदायी हुने कृषिविज्ञहरू बताउँछन् । तर, क्रेडिट कार्डमार्फत लिने यस्तो कर्जा व्यावसायिक कृषकको पहुँचमा मात्र नभई सामान्य किसानसम्म पुग्नुपर्ने उनीहरूको भनाइ छ ।

Translate »