तयारीविनै लामो दूरीका यातायात खोल्ने निर्णय

सबै सिटमा यात्रु राख्न नदिए जहाज नउडाउने

 


स्काई न्यूज /असोज १, सुर्खेत ।
सरकारले ६ महीनापछि बन्द सार्वजनिक यातायात असोज १ गतेदेखि खुलाउने निर्णय गरेसँगै यातायात व्यवसायीहरु त्यसको तयारीमा जुटेका छन् । सोमवारको मन्त्रिपरिषद्को निर्णयमा असोज ५ गतेदेखि सार्वजनिक यातायात चलाउने हल्ला बाहिरिएपछि मंगलवार नै व्यवसायीहरुको बैठक बसेको थियो । बैठकमा यातायात व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीले दशैंमा घर फर्किनेको भीड हुने भएकाले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा छलफल गरेका थिए । तर, मंगलवार साँझै मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले २ दिनपछि बिहीवारदेखि नै लामो दूरीसहितका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । सरकारले कोरोना संक्रमणका कारण सुरक्षित रुपमा कसरी यातायात सञ्चालन गर्न सकिन्छ भनेर छलफलसमेत नगरेको व्यवसायीको आरोप छ । ‘यातायात चलाउन हामी तयार छौं, हाम्रो स्तरबाट तयारी भइरहेको छ तर सरकारले कसरी व्यवस्थित रुपमा यातायात चलाउन सकिन्छ भनेर हामीसँग छलफलसम्म गरेको छैन,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘यातायात बन्द र खुला गरिएको विषयमा यातायात व्यवसायीसँग छलफल गर्नु पर्दैन ?’ सरकारले कोरोना महामारी रोकथामका लागि चैत ११ देखि गरेको बन्दाबन्दीका कारण सार्वजनिक यातायात बन्द थियो । ४ महीना लामो बन्दाबन्दीपछि सरकारले असार २५ गते ५० प्रतिशतसम्म बढी भाडा लिएर छोटो दुरीमा जिल्लाभित्र सीट क्षमताभन्दा आधा मात्र यात्रु राखेर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सो निर्णयपछि जिल्लाभित्र सार्वजनिक यातायात क्रमिक सञ्चालन हुन थालेको थिए । अहिले पनि व्यवसायीहरुले ५० प्रतिशत बढी भाडा लिएर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन् । आइतवारको मन्त्रिपरिषद्ले असोज १ गतेबाट लामो दूरीका सवारी सञ्चालन फुकुवा गर्ने निर्णय गरेपछि पुरानै मापदण्डअनुसार ५० प्रतिशत बढी भाडा लिएर लामो दूरीका सवारी सञ्चालनको तयारी गरिएको महासंघ अध्यक्ष कर्माचार्यले जानकारी दिए । उनका अनुसार आधा मात्र यात्रु राखेर सवारीसाधन चलाउँदा भाडा बढाउनुपर्ने अवस्था आएको हो । ‘५० प्रतिशत भाडा बढाएर लामो दूरीका यातायात चल्ने भनिए पनि आधा यात्रु मात्र राखेर चलाउँदा व्यवसायीको आम्दानी घट्छ,’ उनले भने । स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रुपमा सवारीसाधन यातायात कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा बुधवार तीनओटा मजदूर संगठनका प्रतिनिधिसँग छलफल गरी आधिकारिक निर्णय लिइने कर्माचार्य बताउँछन् । अनुसार देशभर यातायात क्षेत्रमा १० लाखले रोजगारी पाएका छन् । यसमा आश्रित परिवारको संख्या ४५ लाख बढी छ । देशभर करीब ३ लाख सार्वजनिक यातायात छन् ।


बसपार्कमा चहलपहल बढ्यो
यता लामो दुरीका सवारी सञ्चालन गर्ने सरकारले निर्णय गरेसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेत बसपार्कमा यात्रुहरु अग्रिम टिकक बुकिङ्ग गर्न थालेका छन् । लामो समयदेखि बन्द रहेको लामो दुरीको सवारी असोज १ गतेबाट खुल्ने भएपछि यात्रुहरु बसपार्कमा गएर टिकट बुकिङ्ग गर्न थालेका हुन् । विगतमा सुनसान बनेको सुर्खेत बसपार्कमा एकाध गाडी पार्किङ गरेर राखिए पनि बुधबारदेखि चहलपहल बढेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट अन्य प्रदेश तथा कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा जाने यात्रुहरुले टिकट बुकिङ्ग गर्न थालेको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले जानकारी दिए । आधा सिटमा यात्रु राख्ने, भाडाको पचास प्रतिशत बढी लिने गरेर गाडी सञ्चालनमा ल्याउने तयारी भएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष सापकोटाले बताए । उनले लामो र छोटो दुरीका सवारी साधनबाट सरकारले तोके अनुसारको भाडादर कायम गरिने जनाए । यसअघि लामो दुरीका सवारी सञ्चालन नआउँदा रातो नम्बर प्लेटका सवारीले मनलाग्दी भाडा असुल्दै आएपछि प्रहरीले कारवाही समेत गरेको थियो । ‘सार्वजनिक यातायात भन्दा रातो नम्बर प्लेटका सवारीले भाडा लिएको सत्य हो,’ उनले भने, ‘भोलीदेखि सञ्चालनमा हुने यातायातका सवारीमा सरकारले तोकेको भन्दा बढी भाडा नतिर्न सबै यात्रु महानुभावलाई अनुरोध गर्दछु ।’ यदी कसैले मनलाग्दी भाडा लिएको पाइएमा सम्बन्धित यातायात प्रालि र प्रहरीलाई खवर गर्न उनको आग्रह छ । सार्वजनिक यातायात पूर्व रुपमा सञ्चालनमा आउने भएपछि यात्रुहरु उत्साहित बनेका छन् भने यातायात व्यवसायीहरुले लकडाउनमा धरासाही बनेका व्यवसायीलाई भने राहत हुने अपेक्षा राखेका छन् । असोज १ गते विश्वकर्मा पूजा भएकाले आंशिक रुपमा सवारी सञ्चालनमा आउने देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले बताए । उनले केही दिनमा पूर्ण रुपमा सवारी सञ्चालनमा आउने जनाए । सरकारले तोकेको मापदण्ड अनुसार नै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड सवारीमा अपनाएर सञ्चालनमा ल्याइने उनको भनाइ छ ।

सुर्खेत विमानस्थल तयारी पुरा
आन्तरिक उडान सञ्चालन गर्न सुर्खेत विमानस्थलमा आवश्यक सुरक्षा मापदण्डको तयारी पुरा गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन विमानस्थलमा आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाइएको छ भने स्वचालित सेनिटाइजरको समेत व्यवस्था गरिएको छ । न्यूनतम एक मिटरको दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाउने काम सम्पन्न गरिएको सुर्खेत नागरिक उड्यन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले जानकारी दिए । उनले सामाजिक दूरी कायम गरेर यात्रु प्रवेश गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकी लागेको यात्रुहरु जान नपाउने, स्यानिटाइजर प्रयोग गर्नुपर्नेसहितको सुरक्षा मापदण्ड तोकिएको जनाए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम गरेर मात्रै यात्रुलाई प्रवेश गराउने व्यवस्था कार्यालयले गरेको पन्थीको भनाई छ । ‘विमानस्थलमा हेल्थ डेस्क स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय भईसकेको गरेको छ,’ उनले भने, ‘सुर्खेत–काठमाडौं उडान शुरु हुनुपूर्व नै आवश्यक स्वास्थ्यकर्मीको टोलीलाई विमानस्थल खटाउने प्रतिवद्धता सामाजिक विकास मन्त्री दल रावलले गर्नु भएको छ ।’ उनले विमानस्थल प्रवेशदेखि विमान चढ्दासम्म अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कसरी ख्याल गर्ने भन्ने विषयमा विमान कम्पनीका प्रतिनिधिहरुसँग समन्वय गरिएको जनाए । सुर्खेत विमानस्थलबाट सुर्खेत–काठमाडौं बुद्ध एयरले उडान भर्दै आएको छ । तर भोलीदेखि नै उडान गर्ने वा नगर्ने भन्नेबारे बुद्ध एयरले कुनै जानकारी नगराएको विमानस्थल स्रोतको भनाइ छ । सुर्खेत विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा र मुगुमा तारा, समिट, सीता एयरले उडान गरिरहेका छन् । यस्तै, सुर्खेतमा नेपाली सेनाको पश्चिम एयरवेश समेत सञ्चालनमा छ ।


सबै सिटमा यात्रु राख्न नदिए जहाज नउडाउने
सरकारले आन्तरिक हवाई उडान असोज १ गतेबाट खुल्ला गर्ने भने पनि वायुसेवा कम्पनीहरुले ५० प्रतिशत यात्रु बोकेर उडान नगर्ने भएका छन् । आन्तरिक उडानको लागि जहाजका सिटमा पूरापूर यात्रु बोकेर उडान गर्न नपाउँदासम्म वायुसेवा कम्पनीलाई केही फाइदा नहुने वायुसेवा सञ्चालकहरुले जनाएका छन् । उडान गर्नको लागि यात्रुको टिकट बुकिङ खुला पनि नगर्ने र अन्य सार्वजनिक यातायातको साधनलाई सहुलियत दिँदा आन्तरिक वायुसेवा कम्पनीको लागि तत्काल राहत घोषणा गरिनुपर्ने वायुसेवा सञ्चालक कम्पनीको माग छ । नागरिक उड्डयन प्राधिकरण र नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार उडान भर्न पाउनुपर्ने वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन) का कोषाध्यक्ष रुपेश जोशीले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आएका जहाजले पूरा सिटमा यात्रु बोकेका छन् । आन्तरिक उडानका जहाजले पनि पूरा सिट क्षमतामा यात्रु बोक्न पाउनुपर्छ । ‘प्राधिकरण र आइकाओले बनाएको मापदण्डमा जहाजमा आधा मात्र यात्रु बोक्ने कतै उल्लेख गरिएको छैन,’ जोशीले भने,’ जनस्वास्थ्य मापदण्डअनुसार हामी उडान भर्न तयार छौँ । भाडा वृद्धि भनेको पनि छ त्यो मान्छौँ । महामारीको समयमा १० हजार तिरेर कुनै पनि यात्रु जहाजमा यात्रा गर्दैनन् ।’ सार्वजनिक यातायात जस्तो वायुसेवा कम्पनी नभएको र महामारीमा जहाजमा सस्तो भाडा दरमा, आधा मात्र यात्रु बोकेर उडान गर्दा कम्पनीको ठूलो नोक्सान हुने उनको दाबी छ । मन्त्रालयमा छलफलको लागि बोलाइएको भए पनि मन्त्रालयले ५० प्रतिशत यात्रु बोकेर उडान गर्नको लागि निर्णय नभएको जानकारी दिएको जोशीले बताए । ‘जबसम्म शतप्रतिशत सिटमा यात्रु राखेर उडान भर्न पाइँदैन तबसम्म उडान भरिन्न,’ उनले अगाडि थपे ।

Translate »