रारा तालको वरिपरि साइकल लेन बन्दै, मुख्यमन्त्रीद्वारा शिलान्यास

 

सागर परियार / असोज १,जुम्ला ।
नेपालकै सबैभन्दा ठुलो रारा तालमा साइकल लेन बन्ने भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नेपालको पर्यटन गन्तव्य रारा तालमा साइकल लेन निर्माण हुने भएको हो । स्वर्गकी अप्सरा उपमा पाएको नेपालकै सबैभन्दा ठुलो ताल रारा ताल वरिपरि चलाउन मिल्ने गरी साइकल लेन निर्माण थालिएको छ । प्रदेश सरकारको लगानीमा तालको वरिपरि साइकल लेन बनाउन बिहीबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रूपमा शिलान्यास गरे । उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेर रोकायाका अनुसार क्रमागत योजनाको रूपमा आर्थिक वर्ष २०७६/०७७ मा तीन करोडको ठेक्का आव्हान गरिएको जानकारी दिए ।


उनका अनुसार साइकल लेन निर्माणको जिम्मा पाएको शङ्कर माली जेभी निर्माण कम्पनीले दुई करोड ८८ लाखमा लिने कबोल गरेको छ । भने, यो वर्ष एक किलोमिटर लम्बाई र एक दशमलव ६ मिटर चौडाइसहितको ब्लक निर्माण गरिने भएको छ । तालको वरिपरिको लम्बाई भने साढे चौध किलोमिटर रहेको रोकायाको भनाई छ । पर्यटन मन्त्री बुढाले यो वर्ष एक किलोमिटर बनाइने र आगामी वर्ष बजेट थप्दै तालको वरिपरि साइकल लेन बनाइने बताए । मुख्यमन्त्री शाहीले रारा ताल प्राकृतिक सम्पदाको धनी क्षेत्र भएको बताउँदै ताल क्षेत्रमा अन्य सवारी साधन नपुर्‍याइने बताए । तालको प्राकृतिक स्वरूपको जगेर्ना गरिराख्न मिली चौरभन्दा तल साइकल मात्रै लैजान पाइने र साइकल यात्रा गर्न दिइने उनको भनाई छ । रारा ताल वरिपरि साइकल लेन निर्माण भएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकलाई करिब साढे १४ किलोमिटर तालको वरिपरि घुमफिर गर्न सहज हुने भएको छ । साइकल लेन बनाइएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटनले यस क्षेत्रको आय स्तरमा वृद्धि हुने र त्यसले थप रोजगारी पाउने विश्वास गरिएको छ ।

Translate »