पाइन छाडे असला माछा

स्काई न्यूज / भदौ २९,खलंगा ।
जुम्लाको तिला र हिमा नदीमा पाइने असला माछा लोप हुन थालेका छन् । जथाभावी नदीमा माछा मार्ने कार्य बढेपछि कर्णाली नदी तथा यसका सहायक नदीहरूमा माछा पाउन छाडेका हुन् । माछा मार्दा, करेन्ट लगाउने, विषादी प्रयोग गर्ने, विस्फोटक पदार्थको प्रयोग गर्नाले सो नदीमा माछा पाइने छाडेको तिला गाउँपालिका कार्यवाहक अध्यक्ष विष्णु बुढाले बताए । नदी आसपासका क्षेत्रका स्थानीयवासीको गुजारा चलाउने माध्यम नै माछा हो । यो राम्रो आम्दानीको स्रोत पनि हो । स्वादिला माछाका प्रजाति लोप हुँदै जाँदा यहाँका स्थानीयवासीको पेशासमेत संकटमा परेको छ । खोलामा करेन्टले माछा मार्न थालेपछि यहाँका माछा लोप हुने अवस्थामा पुगेको स्थानीयवासी कृष्णबहादुर बुढाले बताए । उनले भने, ‘पहिले धेरै माछा पाइन्थे माछा मारेर यहाँका स्थानीयवासीको जीविका चल्थ्यो अहिले माछा भेटिन छाड्यो ।’ सो नदीमा माछा पाउन छाडेपछि माछा संरक्षणका लागि स्थानीय सरकारले पहल थालिरहेको उनले जानकारी दिए ।

सो नदीमा पाइने असला माछामात्र नभई खासगरी पहिलेको तुलनामा अहिले माछाका प्रजातिसमेत देखिन छाडेको यहाँका बुढापाका बताउँछन् । स्थानीय सरकारले माछा संरक्षणका क्रियाकलाप गर्न जरुरी छ । किसानलाई व्यावसायिक माछापालन गर्नतिर आकर्षित गर्न काम गर्न आवश्यक रहेको तिला– १ रहेको सीता माध्यमिक विद्यालयका शिक्षक सुनमबहादुर बुढाले बताए । उनले भने, ‘माछा लोप हुँदै गएपछि मूल्य पनि निकै बढेको छ । २ वर्षअघि माछाको मूल्य प्रतिकेजी रू. ३०० थियोे । अहिले रू. ६०० प्रतिकेजीमा किनबेच भइरहेको छ ।’ माछा मार्नका लागि करेन्ट लगाउनु, विषादीको प्रयोग बढ्दै जानु, नदीमा फोहर मिसाउनु र पानीको बहाव दिन प्रतिदिन घट्दै जानुले माछा लोप हुँदै गएको माछा विज्ञहरू बताउँछन् । पहिले यहाँको माछा जुम्लाबाहिर निर्यात हुन्थ्यो । अहिले सदरमुकाम खलंगामा समेत यो माछा देखिन छाड्यो । झण्डै एक वर्षअघि जिल्लाको रारालिही, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु लगायतका विभिन्न स्थानमा ठूलो संख्यामा माछा मरेका थिए । तिला नदीमा पाइने लोपोन्मुख असला जातका माछा जोगाउन नदीमा करेन्ट लगाउने, विषादी प्रयोग गर्ने जस्ता कार्य रोक्न जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले बताए । नेपालमा २३० प्रजातिका माछाहरू पाइने गरेकामा कर्णाली नदीमै मात्र ८ प्रजातिका माछाहरू पाइने गरेका छन् ।

Translate »