नेपालमा राष्ट्रिय युवा वैज्ञानिक एकेडेमी गठन

२८ भदौ, काठमाडौं ।
नेपालमा युवा वैज्ञानिकहरुको आवाज उठाउने हिसाबले युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन भएको छ । डा. वसन्त गिरीको अध्यक्षतामा गठित एकेडेमीको तदर्थ समितिमा डा. बालकुमारी ओलिया, डा. विषेश खनाल, डा. सागर रेग्मी, डा. स्मृति पन्त, डा. सुरज भट्टराई र डा. उत्तमबाबु श्रेष्ठ समेत सातजना छन् । संस्था गठन गर्नुपूर्व नेपाली युवा अध्येताहरुले गत वर्ष भदौ, कात्तिक र पुसमा भेला आयोजना गरेका थिए । संस्थाको विधानअनुसार सदस्यताका लागि निकट भविष्यमा नै निवेदन आह्वान गरिने एकेडेमीले बताएको छ ।

संस्थाको नाममै युवा भएकाले यसको सदस्य बन्न पनि उमेरको हदबन्दी राखिएको छ । साथै यो एकेडेमी विशुद्घ वैज्ञानिकहरुको मात्रै नभएर कानुन, समाजशास्त्र, मानवशास्त्र र चिकित्साविज्ञान लगायतका सबै विषयका अनुसन्धानकर्ता,अध्येताहरुले सदस्यता लिन पाउने संस्थाका सदस्य डा. सुरज भट्टराईले बताए । विश्वभर पछिल्लो समयमा युवा अध्येताहरुको एकेडेमी खोल्ने प्रयास बढ्दो छ । हालसम्म विश्वका ४१ देशमा त्यस्तो राष्ट्रिय एकेडेमी खोलिएको र उनीहरुसँग नेपालको युवा वैज्ञानिक एकेडेमीले पनि हातेमालो गर्दै अगाडि बढ्ने विश्व युवा वैज्ञानिक एकेडेमीका सदस्यसमेत रहेका डा. उत्तमबाबु श्रेष्ठले बताए । उक्त एकेडेमीले नेपाली युवा अध्येताहरुको अवस्थाबारे बुझ्न राष्ट्रियस्तरको सर्वेक्षण पनि शुरु गरेको श्रेष्ठले बताएका छन् । (अनलाइन खबर)

Translate »