सुर्खेतका २४३६ फुसको घरमा जस्ता लगाइने

सुरक्षित नागरिक आवास कार्यक्रम

स्काई न्यूज / भदौ २६, सुर्खेत ।
सुर्खेत क्षेत्र नम्बर २ मा फुसको छाना भएका घरमा बसोबास गर्दै आएका ११२३ घरको छानो फेरिने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत ११२३ घरका लागि जस्ता दिने भएपछि घरको छाना फेरिने भएको हो । ‘निकट भविष्यमा क्षेत्र नम्बर २ मा कुनै पनि फुसको छाना भएको घर रहने छैन । त्यसका लागि पहिलो चरणमा ११२३ परिवारको छानो फेर्ने योजना अघि सारेका छौं,’ सुर्खेत क्षेत्र नं. २, बाट प्रतिनिधि सभा सांसद एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले भने, ‘असहाय, गरिब परिवारले सुख, शान्तिपूर्ण तथा सहज रुपमा जीवनयापन गर्न सकुन्, असहायले पनि व्यवस्थित र सुरक्षित घर पाउन भन्ने उद्देश्य हाम्रो छ । सोही अनुसार लाभग्राही छनौट गछौं ।’ उनले फुसको छानो मुनि बस्नुपर्ने गरिब तथा विपन्न समुदायको अवस्थाको अब अन्त्य हुने बताए । फुसको छानो भएकै कारण हरेक वर्ष आगलागीको विपत्ती निम्तिने गरेको स्मरण गराउँदै उनले फुसको छानो विस्तापित गरी जस्ता पाता लगाउन यस्तो अनुदान दिइएको जानकारी दिए ।

सुर्खेत क्षेत्र नम्बर २ मा मात्रै ३ हजार भन्दा बढी खर, फुसले छाएको घर रहेको अनुमान छ । सुर्खेत क्षेत्र नम्वर २, भित्र सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाका १ देखि १४ नम्वर वडासँगै बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछन् । शुक्रबार वीरेन्द्रनगरमा संघीय आयोजना कार्यान्वयन ईकाइको समन्वय एवं स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतको अध्यक्षतामा बसेको सुर्खेत क्षेत्र नं २ प्रतिनिधि सभा क्षेत्र अन्तर्गतका स्थानीय तह वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा स्थानीय तहका प्रमुखहरुले कार्यविधि अनुसार निवेदन लिएर क्षेत्र नं २ मा सुरक्षित आवास कार्यक्रमको लाभग्राही छनौट गरिएको बताएका छन् । उनीहरुले कार्यक्रम अन्य जिल्लाको तुलनामा सुर्खेतमा ढिलोगरि आएकाले केही लाभग्राहीको अझै टुंगो लाग्न बाँकी नै रहेको जानकारी गराएका हुन् । गरिबीको रेखामुनी रहेका पराल, खर वा छ्वालीको छाना भएका घर परिवारलाई जस्ता पाताको छानामुनी ल्याउने उद्देश्यले सरकारले सुरक्षित आवास कार्यक्रम सञ्चालन गरेको हो । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि छनौट भएका परिवारलाई टहरा र छाना बनाउन ५० हजार रुपैयाँ उपलब्ध गराउने लक्ष्य सरकारको छ । उनीहरुलाई पहिलो किस्तामा ३० हजार रुपैयाँ र कार्य प्रगतिका आधारमा बाँकी दोस्रो किस्ता बैंक मार्फत भुक्तानी हुने संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतका ईन्जिनियर टिकाराम पोखरेलले बताए । उनले गरिब तथा विपन्न समुदायका लागि लक्षित गरेर ‘सुरक्षित नागरिक आवास’ कार्यक्रम सरकारले सञ्चालनमा ल्याएको जनाए । उनका अनुसार बैठकमा पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा, वीरेन्द्रनगरका उपमेयर मोहनमाया ढकाल एवं बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको उपस्थिती रहेको थियो ।


संघीय आयोजना कार्यान्वयन ईकाइ सुर्खेतका अनुसार सुर्खेत क्षेत्र नम्वर २, मा पहिलो चरणमा ११२३ घरधुरीलाई उक्त कार्यक्रममा समावेश गरिने छ । जसअनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ देखि १४ सम्मका ३५१ घरधुरी, बराहताल गाउँपालिकाका ३६६ घरधुरी, पञ्चपुरी नगरपालिकाका ६४ घर धुरी, र चौकुने गाउँपालिकाका ३४२ घरधुरीलाई सुरक्षित आवास निर्माण वापत ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सेवाग्राहीलाई पहिलो किस्ता स्वरुप ३० हजार रुपैयाँ उपलब्ध गराइने छ । घर निर्माणका लागि जस्ता पाता खरिद गरेको बील भरपाई पेश गरिसकेपछि बाँकी रकम ५ प्रतिशत ब्यवस्थापन खर्च कटाएर उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । ‘लाभग्राहीले स्थानीय तहसँगको सम्झौता अनुसारको पहिलो किस्ता वापतको काम सम्पन्न गरिसकेपछि मात्र दोस्रो किस्ताको ४० प्रतिशत रकम पाउने छन,’ संघीय कार्यान्वयन ईकाई सुर्खेतका सूचना अधिकारी ईन्जिनियर रामकृष्ण आचार्यले भने, ‘स्थानीय तहका प्राविधिकले लाभग्राहीको घरको छानो निर्माण सम्पन्न भए÷नभएको प्राविधिक प्रतिवेदनका आधारमा मात्र बैंक मार्फत शेष भुक्तानी गर्ने छन् ।’ उनले पहिलो किस्ताको रकम लिएर जस्ता पाताको छानो नबनाई लाभग्राहीले झुठो विवरण पेश गरेमा सोही कार्यविधि अनुसार असुल उपर गर्ने सम्मको कानूनी व्यवस्था रहेको बताए । उनका अनुसार सम्झौंता अनुसार पहिलो किस्ताको रकम लिएर तीन महिना भित्र घरको छानो नबनाए दोस्रो किस्ता स्वतः रोकिने व्यवस्था छ । संघीय आयोजना कार्यान्वय ईकाइले केन्द्रसँग समन्वय एवं स्थानीय तहलाई आवश्यक परेमा प्राविधिक सहयोगसँगै मूल्यांकन तथा अनुगमन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । यता पहिलो चरणमा सुर्खेत क्षेत्र नम्वर १, अन्तर्गतका १३१३ घरधुरी लाभाविन्त हुँदै छन् । क्षेत्र नम्वर १ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १५ र १६ सँगै लेखबेसी नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, चिंगाड गाउँपालिका र सिम्ता गाउँपालिका पर्दछन् ।

Translate »