कर्णालीमा २८ जना कोरोना संक्रमित थपिए

 

स्काई न्यूज / भदौ २४, सुर्खेत ।
कर्णालीमा थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी अस्पताल प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार २८ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्य सुर्खेतका १७ जना, रुकुम पश्चिमका चार जना, सल्यान र दैलेखका दुई÷दुईजना, जाजरकोट, मुगु र चितवनका एक÷एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै १७ जनामा संक्रमण देखिएको छ । यो सँगै प्रदेशभर कोरोना संक्रमित हुनेको संख्या २७१९ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार बुधबार प्रदेशमा थप १४ जना कोरोना मुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २३५४ पुगेको छ । बुधबारसम्म प्रदेशभर ३५९ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । कर्णालीमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

Translate »