चौकुनेमा टोल शिक्षा पठनपाठन शुरु

शहरलाई हेरेर गाउँको पढाई नरोकौं

स्काई न्यूज /भदौं २२, सुर्खेत ।
शहरमा बस्ने बाबुआमालाई अचेल बच्चाबच्चीको अनलाइन क्लासको हतारो छ । स्कुल पनि जान नमान्ने आफ्ना नानीबाबुहरुलाई मोबाइल र कम्प्युटरका स्क्रिन अगाडि घन्टौं बसाइराख्नु पर्ने सकस उनीहरुलाई छ । शहरमा पो घरघरमै इन्टरनेट छ र अनलाइन क्लास छ । विद्यार्थी त दूरदराजका गाउँगाउँमा पनि छन् । लकडाउनका बेला दूरदराज विद्यार्थी अनलाइन क्लासबाट पढ्दैनन् । किनकी उनीहरुलाई अनलाइन पढाउन न निजी विद्यालयले जस्तो कसैले पहल गर्छ न त उनीहरुका बुवाआमाले घरमै बिजुली र इन्टरनेट जोड्न सक्छन् । उसो त सरकारले भर्चुअल माध्यमबाट पठनपाठन शुरु गर्न सरकारले निर्देशन दिएपनि अधिकांश विद्यालयले त्यो लागू गर्न सक्ने स्थितिमा छैनन् । त्यही ठानेर होला इन्टरनेट न्यून पहुँच पुगेको सुर्खेतको चौकुने गाउँपालिका गाउँ शिक्षा समितिको बैठकले सामाजिक दुरी कायम गर्दे विद्यालयलाई टोल शिक्षा पठनपाठन शुरु गर्न निर्देशन दिएको छ । गाउँ शिक्षा समितिको निर्देशनपछि चौकुनेका केही विद्यालयहरुले पठनपाठन नै शुरु गरिसकेको छन भने केही शुरु गर्ने तयारीमा रहेको बताईएको छ । चौकुनेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय मोतिसेराले आइतबारदेखिनै टोल शिक्षा कार्यक्रम मार्फत विद्यार्थीलाई (कोभिड–१९) बारे सचेतना जगाउँदै पठनपाठनलाई सहजीकरण शुरु गरेको हो । सामाजिक दूरी कायम गरी शिक्षकले विद्यार्थीलाई पायक पर्ने स्थानमा पढाउन थालेका छन् ।


विद्यालयका प्रधानाध्यापक जगत जोशीले कोभिडका कारण लामो समयदेखि अवरुद्ध पठनपाठनलाई टोल शिक्षा मार्फत सामाजिक दुरी कायमगर्दे स्वास्थ्य सामाग्री उपयोग गरेर सम्पर्क कक्षाका रुपमा शुरु गरिएको बताए । उनले स्वास्थ्य सुरक्षा अपनाएर नयाँ शैक्षिक सत्रको पठनपाठन आफ्नै तरिकाले शुरु गरिसकेको जनाए । ‘कतिपय विद्यार्थीहरु खुला आकाशमूनि स्याउला ओछ्याएर सामाजिक दूरी कायम गरेर बस्छन्,’ उनले भने, ‘शिक्षकहरु पालैपालो गएर उनीहरुलाई पढाउँछन् ।’ उनका अनुसार नेरा आधारभूत विद्यालय मोतिसेराले यसरी विद्यार्थी पढाउन थालेको दुई दिन भइसक्यो । यो विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि दुई सय जना भर्ना भएका छन् । उनीहरुलाई किताब वितरण गरिसकिएको प्रधानाध्यापक जोशीले जानकारी दिए । ‘भिन्नभिन्न कक्षाका विद्यार्थीलाई फरक फरक दिनमा विद्यालय बोलाएर किताब बाँडेका हौं,’ उनले भने । सरकारी विद्यालयका विद्यार्थीलाई सरकारले निःशुल्क किताब दिन्छ । किताब पनि बाँडिसकेको र इन्टरनेटबाट पठनपाठन सम्भव नभएकोले सामाजिक दूरी कायम गरी समूह–समूह बनाएर पठनपाठन गर्ने निर्णयमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक पुगेको उनले जानकारी दिए । ‘एउटा समूहमा २० जना विद्यार्थी छन् । पाँच वटा समूह र केही समूहका उपसमूह बनाएर पनि विद्यार्थीलाई पढाउन शुरु गरेको हो,’ उनले भने, ‘एक जना शिक्षकले एक समूहलाई पढाउनु हुन्छ ।’ दिनमा तीन घन्टाका दरले विद्यार्थीलाई नै पायक पर्ने ठाउँ टोलटोलमा गएर पठनपाठन शुरु गरेको उनले बताए । ‘हाम्रो निम्न माध्यमिक विद्यालय हो । निमाविमा सरकारी दरबन्दी शुन्य छ । हामी आठ जना सरकारी शिक्षक छौं,’ उनले भने, ‘एक शिक्षकले एक विद्यार्थी समूहलाई पढाउनुहुन्छ । कहिलेकाहीँ शिक्षक रोटेसन पनि गर्ने तयारी छ ।’ विद्यालयका सबै शिक्षकहरु स्थानीय बासिन्दा नै भएकाले सबैलाई परिचालन गरिएको उनले बताए । ‘विद्यार्थीहरु खेलेरै बस्ने भए । यहाँ रोगको प्रकोप पनि अहिलेसम्म छैन,’ उनले भने, ‘टोलटोलमा गएर खुला ठाउँमा सामाजिक दूरी कायम गरी पठनपाठन गरेका हौं ।’

विभिन्न कक्षाका विद्यार्थी समेटेर समूह बनाइएको उनले बताए । चौरमा राखेर पढाउँदा हावाहुरी र पानी पर्दा समस्या हुने गरेको प्रअ जोशी बताउँछन् । ‘शौचालय, खानेपानी पनि समस्या छ । हावाहुरी आयो भने पनि विद्यार्थीलाई कहाँ लैजाने हुन्छ,’ उनले भने, ‘विद्यालयमै पढाउने कि भन्ने पनि छलफल भएको हो । गाउँपालिकासँग समन्वय गरेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय नै सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।’ उनले शहरमा जस्तो कोरोनाको सन्त्रास गाउँमा नरहेको स्पष्ट पारे । त्यस्तै चौकुने गाउँपालिकाकै सबै भन्दा ठूलो विद्यालय जीवन ज्योति माविले समेत टोल शिक्षा कार्यक्रम मार्फत पठनपाठन सञ्चालन गर्ने योजना बनाएको छ । विद्यालयका प्रधानाध्यापक ओमबहादुर दर्लामीले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा गाउँ शिक्षा समितिको समन्वयमा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठन शुरु गर्ने तयारी भएको जानकारी दिए । यता गाउँपालिकाको शिक्षा शाखा प्रमुख टेकन्द्रबहादुर बुढाले गाउँ शिक्षा समितिको भदौ १४ गते बसेको बैठकले (कोभिड–१९) को कारण प्रभावित शैक्षिक संस्था लामो समयदेखि बन्द हुँदा पठनपाठनमा अवरोध सृजना भएकाले विद्यार्थीको अवस्था पहिचान, कोभिड–१९, को बारेका सचेतनामुलक संदेश प्रवाह, पुस्तक प्राप्त गरे/नगरेको जानकारी, पठनपाठनमा सहजीकरण तथा विद्यार्थीहरुलाई स्वःअध्ययनमा प्रोत्साहन गर्न विद्यालयलाई परिपत्र पठाएको बताए । उनले गाउँ शिक्षा समितिको उक्त निर्देशनलाई सबै विद्यालयले आधार मानेर कतिपय तयारीमा रहेको र कतिपयले भदौं २० गतेदेखि पायक पर्ने टोल, समाजमा शिक्षक खटाएर टोल शिक्षा अभियान सञ्चालन गरिरहेको जनाए ।


पठनपाठन नरोकौं
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत पहिलो सातादेखि विद्यार्थीहरुले विद्यालयमा पाइला टेक्न पाएका छैनन् । कतिले परीक्षा नै दिन पाएनन् भने परीक्षा दिइसकेकाहरुले पनि विद्यालयमा उपस्थित भएर प्रमाणपत्र लिन पाएका छैनन् । कोरोना लक्षित निषेधाज्ञा/लकडाउन लम्बिँदै गएपछि विद्यालयहरुले दुरशिक्षामा जोड दिए पनि सबै विद्यार्थी प्रविधिको पहुँचमा छैनन् । विद्यालय व्यवस्थापन र शिक्षकहरुलाई पनि दुरशिक्षाबाट पढाउन सजिलो छैन । जसले गर्दा शैक्षिक सत्र नै खेर जाला कि भन्ने चिन्ता बढेको छ । कोभिड–१९ महामारीका बेला विद्यार्थीलाई कसरी पढाइमा जोड्ने ? शैक्षिक सत्र गुम्न नदिन के गर्ने ? दुरशिक्षाको प्रभावकारिता कस्तो छ ? सामुदायिक र निजी विद्यालय शिक्षामा कोभिड–१९ को प्रभाव कस्तो छ ? लगायतका विषयमा सरोकावालाले बुझ्न आवश्यक देखिन्छ । लकडाउनपछि दुरशिक्षा कसरी सञ्चालन गर्ने भनेर सर्वेक्षण गर्दा ३–४ प्रतिशत भन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचमा नरहेको पाइएको छ । मोवाइल फोन पुगेका विद्यार्थीको घरधुरी भने ९० प्रतिशतभन्दा बढी पाइयो । रेडियो टेलिभिजनको पहुँच करिब ५० प्रतिशतको हाराहारीमा छ । नीतिगत रुपमा हेर्दा एउटा विद्यार्थीको एक वर्ष खेर जानु भनेको देशका लागि ९० लाख वर्ष खेर जानु हो । यत्रो क्षतिको स्वाभाविक असर राष्ट्रिय अर्थतन्त्रमा पर्छ । मध्यम र निम्न मध्यम वर्गका अभिभावकका छोराछोरी पढ्ने निजी विद्यालय र विद्यार्थी दुबै अनलाइन कक्षाको पहुँच बाहिर छन् । सञ्चार माध्यममा चर्चा भएजस्तो निजी विद्यालयमा पनि अनलाइन कक्षा सञ्चालन भएको छैन । केही विद्यालयले भने यथासम्भव पढाउने कोशिस गरेका छन् । सामुदायिक विद्यालयमा पहुँचकै कमी छ । विद्यालयहरुले प्रयास गरेको पनि देखिँदैन । अवस्थितिको हिसाबले पनि सामुदायिक विद्यालय ग्रामीण परिवेशमा छन् भने निजी शहर वा सदरमुकाम केन्द्रित छन् । यसले गर्दा पनि सामुदायिकका विद्यार्थी बढी मर्कामा परेका छन् । यस तर्फ सरोकारवालाको समयमै ध्यान पुग्न आवश्यक देखिन्छ ।

Translate »