कलेजो दान गर्ने बुवामा समर्पित निशानको ‘जिन्दगी’ सार्वजनिक

भदौ २२, काठमाडौं ।
बैतडीका दुई महीने शिशु शिवांस अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ हालै सार्वजनिक गरिएको छ । संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’ मा गायक निशान भट्टराईले स्वर दिएका छन् । जन्मिएको १४ औं दिनदेखि विरामी परेका शिवांसलाई महेशले दक्षिण भारतको चेन्नईस्थित डा रेला अस्पतालमा पुगेर कलेजो दान गरेका गरेका थिए । नेपालमा एक महीनासम्म आईसीयूमा राखेर उपचार गर्दा पनि रोग निराकरण नहुँदा मध्ययमवर्गीय महेशले भारत पुगेर रू. १ करोडभन्दा बढी खर्चेर छोरालाई बचाएका थिए । महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफुलाई गीत लेख्न उद्धेलित बनाएको संगीतकार कमलाले बताइन् । उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई मार्मिक ढंगले चित्रण गर्न खोजेका छौं ।

’नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए ।उनले भने, ‘स्टुडियोमा उक्त गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ । शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा लिएको छु ।’ मर्मस्पर्शी गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले बताएका छन् । गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो । त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौं ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएको छ । लकडाउनअघि श्रीमति र उपचाररत छोरालाई अस्पतालमै छोडेर घरव्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्किन पाएका छ्रैनन् ।

Translate »