नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने

भदौ २२,काठमान्डौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको लामो समयदेखि अवरुद्ध स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ । सोमवार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ुप्रचण्डु तथा महासचिव विष्णु पौडेल सहितको छलफलमा भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । असार १० गते शुरू भएको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन ६ गते केहीबेर बसेर बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो । प्रचण्ड माधवकुमार नेपाल समूहले साउन १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय स्थायी कमिटी सदस्यको भेला गरेपछि त्यसले बैठकको मान्यता पाएको थिएन । विवाद समाधान गर्न महासचिव पौडेलको नेतृत्वमा गठित कार्यदलको सुझावका आधारमा स्थायी कमिटी बैठकको नयाँ कार्यसूची बनाउने सहमति बिहीवारको सचिवालय बैठकमा भएको थियो । असार १० गते शुरू बैठकमा सरकारको कामकारवाही र पार्टीको कामकारवाहीको समीक्षालगायत ७ बुँदे एजेण्डा थिए । बैठकको बीचमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि नेकपामा विवाद बल्झिएको थियो । (लोकान्तर)

Translate »