काँग्रेसमा पूरानै प्रतिनिधिहरुबाट महाधिवेशन सम्पन्न गर्न नयाँ प्रस्ताव

भदौ २१,काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण स्थानीयस्तरमा समयतालिकाअनुसार अधिवेशन गर्न समस्या हुने भन्दै काँग्रेसमा रामचन्द्र पौडेल पक्षले पूरानै प्रतिनिधिहरुबाट महाधिवेशन सम्पन्न गर्न प्रस्ताव अघि सारेको छ । शनिबार सम्पन्न पौडेल पक्षको भर्चुअल बैठकमा सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको तालिका प्रभावित हुनसक्ने अवस्था रहेको भन्दै महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न पूरानै प्रतिनिधिहरुबाट महाधिवेशन सम्पन्न गर्ने वैकल्पिक प्रस्ताव अघि सारेका हुन् । कोरोना महामारी बढ्दै जाँदा क्रियाशील सदस्यता वितरण कार्यसमेत रोकिएकोले पार्टी बिधानअनुसार महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्न उपयुक्त विकल्प पूरानै प्रतिनिधिहरुबाट महाधिवेशन गर्नु रहेको पौडेल पक्षधर नेताहरुको रहेको छ ।

करिब ११ जिल्लामा पार्टीका पुराना संरचनाका समायोजनसमेत नसकिएको, समायोजनका काम नसक्दा ती जिल्लाले केन्द्रबाट क्रियाशील सदस्यतासमेत नपाएको तथा तल्ला तहका अधिवेशन पुस ६ बाट सुरु भई माघ ६ गतेसम्म सक्ने तालिका रहेको सन्दर्भमा क्रियाशील सदस्यता वितरण र नवीकरण चुनौतीपूर्ण भएकाले पूर्वनिर्धारित मितिमै महाधिवेशनका लागि समयको दबाब पर्दै गएको छ । काँग्रेसको केन्द्रीय महाधिवेशन आगामी फागुन ७–१० सम्म तोकिएको छ । आउँदो फागुनमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल पाँच वर्ष पुग्दैछ । पाँच वर्षभित्र पनि महाधिवेशन गर्न नसकेमा थप ६ महिना बढाउन पाइने संवैधानिक सुविधा रहे पनि अर्वमान विषम परिस्थितिमा थपिएको समयमा पनि स्थानीयस्तरको अधिवेशन तथा क्रियाशील सदस्यता वितरण जस्ता काम सम्पन्न हुन कठिन रहेकोले पूरानै प्रतिनिधिहरुबाट महाधिवेशन सम्पन्न गर्नु उपयुक्त हुने पौडेल पक्षको तर्क छ । थपिएको मितिभित्रसमेत महाधिवेशन सम्पन्न नभए कि पार्टी पार्टीको वैधानिकता सकिने कि संविधान संशोधन गर्नुपर्ने अवस्था हुन्छ । (कर्पोरिट नेपाल)

Translate »