न्युजिल्यान्डमा तीन महिनापछि कोरोनाबाट एक जनाको मृत्यु

भदौ २१,वेलिङ्टन ।
कोरोना महामारीको प्रभाव कम रहेको भनिएको न्युजिल्यान्डमा तीन महिनापछि शुक्रबार एक जना संक्रमितको मृत्यु भएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्ति करिब ५० वर्षीय पुरुष रहेका छन् ।उनी अकल्यान्ड क्लस्टरका संक्रमित रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । न्युजिल्यान्डमा यसअघि मे २८ मा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट न्युजिल्यान्डमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएपछि न्युजिल्यान्डका स्वास्थ्य महानिर्देशक ह्यारोल्ड ब्लूमफिल्डले कोरोना महामारीविरुद्ध अझ सर्तक भएर लड्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।शुक्रबार दिउँसोसम्म न्युजिल्यान्डमा एक हजार ७ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक हजार ६ सय ३० जना निको भएका छन् । शुक्रबार दिउँसोसम्म कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड ६३ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनको संख्या करिब ८ लाख ६९ हजार रहेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड ७५ लाख निको भएका छन् ।

Translate »