कर्णालीका करार कर्मचारीको म्याद थपिँदै

स्काई न्यूज / भदौ २०, सुर्खेत ।
कर्णाली प्रदेशमा कार्यरत करार कर्मचारीको म्याद थपिने भएको छ । प्रदेश सरकारले करारमा काम गर्ने स्वास्थ्य तथा साविकको घरेलु तथा साना उद्योग विकास समितिका कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि नियुक्ति गरेका दुई सय ३४ स्वास्थ्यकर्मीको म्याद थप गर्न लागेको छ । त्यस्तै, साविकको घरेलु उद्योग कार्यालयका करार कर्मचारीको पनि म्याद थपिने भएको छ । यही भदौ १५ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

कर्णालीका विभिन्न जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका एक सय ७६ जना सामुदायिक नर्स (स्टाफ नर्स र अनमी) तथा प्रदेशकका पाँच वटा नाकामा खटाइएका ३२ जना हेल्थ असिस्टेन्ट र २६ जना नर्स तथा अनमीहरुको करार अवधि समेत थप गरिने प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् । उनले बैठकमा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ र कर्णाली प्रदेश विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७७ स्वीकृत गर्ने, प्राविधिक जनशक्ति सेवा करारमा छनोट गर्ने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ स्वीकृत गर्ने लगायतका निर्णय समेत भएको बताईन् । उनका अनुसार नाकामा खटिएका स्वास्थ्यकर्मीहरूको हकमा २०७७ असोज मसान्तसम्म म्याद थपिएको भएपनि कोरोना महामारी रहिरहेमा २०७८ असार मसान्तसम्म पुनः करार अवधि थप्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । साविकको घरेलुका करार कर्मचारीहरूलाई पहिलेकै सेवा सुविधा लिनेगरी पुष मसान्तसम्म खटाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । घरेलुका एक सय ७६ जना कर्मचारीहरुको माघ मसान्तसम्म करारको म्याद थपिएको हो ।

Translate »