कोरोनाबाट २७१ जनाको मृत्यु , संक्रमितको संख्या ४४२३६

भदौ १९, काठमाडौं ।
नेपालमा शुक्रवार थप १ हजार ३५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७१ पुगेको छ । मृत्यु हुनेमा चार जना महिला र १० जना पुरूष रहेका छन् । नेपालमा हाल १८ हजार ७०४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी होम आईसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा १० हजार ९४२ जना रहेका छन् ।

अहिलेसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ४३ हजार ४९० पुगेको छ भने विगत २४ घण्टामा १३ हजार ६३८ ओटा पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार शुक्रवार मात्रै थप १ हजार ३५४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ५६१ जना रहेका छन् भने कुल संक्रमित मध्ये ५८ प्रतिशतलाई निको भएको छ ।हाल भेन्टिलेटरमा २५ जनाले उपचार गराइरहेका छन् भने आईसीयूमा १५१ जना संक्रमितको उपचार भइरहेको छ । विगत २४ घण्टाको अवधिमा काठमाडौं जिल्लामा मात्रै ३८६ जना संक्रमित थपिए छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं जिल्लामा ३८६ जना, भक्तपुर जिल्लामा ३६ र ललितपुर जिल्लामा ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

Translate »