फाइनल गर्दै निर्देशक सुटिङ कहिलेबाट ?

पहिलो चरणको लकडाउन खुलेपछि धेरै निर्माता तथा निर्देशकले भदौबाट चलचित्रको छायांकन सुरु हुने घोषणा नै गरिदिए । अधिकांशले आफूले भदौबाट चलचित्रको छायांकन सुरु गर्ने योजना बनाएको बताइरहँदा हल संचालकहरु पनि भदौको अन्तिमबाट हल खोल्न सकिने योजनामा थिए । तर, पहिलो चरणको लकडाउन खुलेसँगै कोरोना संक्रमित बढेपछि निर्देशक र हलवालाको योजना सफल हुन सकेन । अहिले भदौबाट चलचित्रको छायांकन सुरु गर्छौ भन्ने निर्माताहरु चुप लागेर बसेको अवस्था छ । धेरैलाई त यो बर्ष नै छायांकनमा फर्किन पाइदैन कि भन्ने पिर पर्न थालेको छ । पहिलो चरणको लकडाउन खुलेर केही काम अगाडि बढेपछि धेरै निर्देशकले भने नयाँ चलचित्रको लागि धमाधम कलाकार फाइनल गरे । निर्देशक सौरभ चौधरीले चलचित्र ‘प्रसाद २’का लागि नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठलाई फाइनल गरे । कलाकारसँग कागजी संझौता नै भएपनि यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ टुंगो छैन । यस्तै, निर्देशक दिपेन्द्र के खनालले चलचित्र ‘चिसो मान्छे’ निर्माणको घोषणा मात्र गरेनन्, नायिकाको रुपमा स्वस्तिमा खड्कालाई फाइनल नै गरे ।

नायकको रुपमा अर्पण थापा चलचित्रमा फाइनल भएको चर्चा छ । सुदुरपश्चिममा यो चलचित्रको छायांकन हुनेछ । तर, कलाकार फाइनल गरेर बसेको निर्माणपक्षलाई काम कहिलेबाट सुरु हुन्छ थाहा छैन । निर्देशक यम थापाले आफ्नो नयाँ चलचित्रका लागि नायिका स्वस्तिमा खड्कासँग संझौता नै गरे । चलचित्रको छायांकन असोजबाट गर्ने योजना उनको छ । तर, कलाकार फाइनल गरेर बसेका उनलाई काम कहिलेबाट सुरु हुन्छ थाहा छैन । निर्माता रोज राणाले चलचित्र ‘खलनायक २’का लागि केही कलाकार फाइनल गरेको बताइरहेका छन् । कतिपय चलचित्रका निर्माताले सुरुवाती लकडाउन अगाडि नै कलाकार फाइनल गरेर चलचित्र घोषणा गरेका थिए भने कतिपयले दोश्रो चरणको लकडाउन सुरु हुनुभन्दा अगाडि कलाकार धमाधम फाइनल गरिरहेका छन् । तर, काम सुरु कहिलेबाट हुन्छ, भन्न सकिने अवस्था छैन । यसरी, कलाकार धमाधम फाइनल हुँदा अब के हुन्छ भनेर अन्यौलमा बसेका चलचित्रकर्मीलाई एक प्रकारले उर्जा भने दिन्छ । (अनलाईन खबर)

Translate »