बिना पीसीआर रिपोर्ट कर्णाली प्रवेशमा निषेध

स्काई न्यूज / भदौ १७, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले प्रदेशका मूल प्रवेशद्वारमा पीसीआर टेष्ट रिपोर्ट नदेखाए प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मंगलवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश प्रवेश गर्ने जो कोही व्यक्तिले पीसीआर टेष्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

त्यसैगरी बैठकले संघीय सरकारको स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड अनुसार कार्यान्वयन गर्ने गराउने, भौतिक दूरी कायम गर्ने कार्य कडाइका साथ लागू गर्ने, संक्रमित स्थानलाई कोभिड-१९ को प्रोटोकलअनुसार स्थानीय तहसँग समन्वय र सहकार्य गरी स्थानीय प्रशासनले सिल गर्ने कार्य प्रचलित कानूनअनुसार गराउने, कोरोना संक्रमणको लक्षण देखिएकालाई अनिवार्य पीसीआर टेष्ट गराउने र कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेटाइनरआइसोलेशनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसीले बताए ।

कोरोना संक्रमितलाई सामाजिक विकास मन्त्रालयले निस्शुल्क उपचारको व्यवस्था मिलाउने तथा कोरोना भाइरसबाट हुन सक्ने प्रभावको विश्लेषण गरी आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपचार सामग्री, औषधि तथा उपकरण लेखाजोखा गरी आवश्यक प्रस्ताव सामाजिक विकास मन्त्रालयले पेश गर्ने र सोका लागि प्रभावकारी तयारी गर्ने निर्णय बैठकले गरेको छ । मन्त्री केसीका अनुसार प्रदेश सरकारबाट सञ्चालित क्वारेन्टाइनमा खाना खुवाउनका लागि हाल आवश्यक पर्ने बजेट रू. ७५ लाख उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सम्बन्धित कोषबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराउने निर्णय भएको छ ।

Translate »