कर्णालीको नाग्म बजारमा पहिरो

४ घरसहित १२ जना पुरिएको घाइतेको भनाई

भदौ १४,जुम्ला ।
कर्णाली राजमार्ग अन्तर्गत नाग्म बजारमा पहिरो जाँदा चार घर पुरिएका छन् भने १२ जना बेपत्ता भएको बताइएको छ । आइतबार अचानक आएको सुख्खा पहिरोले चारवटा घर एकैसाथ पुरेको हो । जुम्ला र कालिकोटको सिमानामा पर्ने कालिकोटको तिलागुफा नगरपालिका वडा नं १ को नाग्म बजारमा पहिरो खस्दा चारवटा घर संगै १२ देखि १४ जना पुरिएको हुन सक्ने घाइते तिलागुफा नगरपालिका १ का वर्ष १३ का अर्जुन हमालले बताए । घाइते हमालका अनुसार आफन्त पर्ने ललित नेपालीको घरमा गएको आइतबार पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा ललित नेपाली लगायत १२ देखि १४ जनासम्म पुरिएको हुन सक्ने उनको अनुमान छ । उनलाई पहिरोबाट निकालेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जुम्लाका डिएसपी लाल बहादुर धामीले बताए । डिएसपी धामीले भने,“घाइतेको भनाइलाई आधार मान्ने हो भने पहिरो भित्र पुरिएका मानिसहरू हुन सक्छन् ।

जुम्लाबाट प्रहरीको टोली पठाइ सकेका छौ । जेसिवि लगाएर पहिरो पन्छाउने काम भइरहेको छ ।” क्षतिको यकिन विवरण आईनसकेकाले गर्दा यहिनै हो भन्न नसकिने उनको भनाई छ । कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन र बिहानको समय भएकाले घरभित्र कम्तीमा पनि दश जना मानिस पुरिएको हुनसक्ने स्थानीयको भनाई छ । सो क्षेत्रमा सञ्चारको कुनै पनि सेवा र सुविधाको पहुँच नभएका कारण जिल्ला प्रशासन कार्यालय कालिकोट र नजिकै पर्ने जुम्लामा समेत खबर नहुँदा घरभित्र पुरिएका मानिसलाई उद्धार गर्न ढिलाइ भएको स्थानीयको गुनासो छ । कर्णाली राजमार्गकै किनारका घरहरूमाथि पहिरो खसेकाले अहिले राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । भत्केका घरभित्रबाट आवाज आइरहेको सुनिएकाले सरकारी निकायबाट तत्काल उद्धार टोली पुग्न सके केही व्यक्तिलाई जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको स्थानीय मुनि बुढाले बताएका छन् । भिरालो जमिनमा रहेको बस्तीका घरहरूको सिरानमा जथाभाबी पानी छोडेकाले पहिरो गएको स्थानीयले बताएका छन् ।

Translate »