वीरेन्द्रनगरको स्वरुप फेर्न ५० करोड

राजधानी एकीकृत शहरी विकास आयोजना

स्काई न्यूज /भदौ १३, सुर्खेत ।
वीरेन्द्रनगरमा राजधानी एकीकृत शहरी विकास आयोजना सञ्चालन हुने भएको छ । प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको विकासका लागि एकिकृत योजना कार्यान्वयनमा गरी मुहार फेर्ने तयारी प्रदेश सरकारले गरेको हो । कर्णाली प्रदेश सरकारले पहिलो चरणमा आर्थिक वर्ष २०७७/०७८ का लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ । राजधानी एकीकृत शहरी विकास आयोजना कार्यान्वयनका लागि अहिले कार्यविधि निर्देशिका तयार भईरहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । उनले पहिलो चौमासिक भित्रै आयोजना कार्यान्वयनका गर्ने लक्ष्यका साथ कार्यविधि निर्देशिका तयार भईरहेको जनाए । ‘राजधानीको मुहार फेर्न एकिकृत शहरी विकास आयोजना कार्यान्वयनमा प्रदेश सरकार लागि परेको छ,’ उनले भने, ‘अस्तव्यस्त बनेको वीरेन्द्रनगरलाई दिगो विकास लक्ष्यका साथ सभ्य र सुन्दर नगर बनाउने योजनासहित अघि बढेका छौं ।’ उनले उति बेलाको मध्यपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम समेत रहेको सुर्खेतको वीरेन्द्रनगरलाई हाल प्रदेशको राजधानी भएसँगै छिट्टै स्वरुप परिवर्तन गर्नका लागि प्रदेश सरकार प्याकेजमै विकास गर्न लागि परेको जानकारी दिए । आयोजना मार्फत आधारभूत पूर्वाधार र सुविधासहितको व्यवस्थित शहरी विकासलाई प्राथमिकता दिइएको उनले बताए । उनका अनुसार साना नयाँ शहर र बस्ती विकासको लागि सम्भाव्यता अध्ययन गरिनेछ । ‘प्रदेश राजधानी शहरको व्यवस्थित विकासका लागि सडक खानेपानी, विद्युत, ढल हरियालीसहित राजधानी वीरेन्द्रनगर शहरी एकीकृत विकास आयोजना सञ्चालन गरिएको हो,’ उनले भने, ‘दलित विपन्न र सिमान्तकृत अल्पसंख्यक समुदायको आवास निर्माणमा सहयोग गर्नुका साथै जनता आवास कार्यक्रमलाई समेत निरन्तरता दिइने छ ।’

उनले नेपाल सरकारसँगको सहकार्यमा वीरेन्द्रनगर खानेपानी आयोजना जस्ता अन्य कार्यक्रमहरु समेत अघि बढाइने योजनाहरु रहेको जनाए । प्रदेश राजधानीमा बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न एकीकृत शहरी विकास आयोजना रणनीति तयार पारेर अघि बढिएको उनको भनाइ छ । ‘एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण गर्न लागिएको छ,’ उनले भने, ‘नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्दे शहरी पूर्वाधारको एकीकृत विकास गर्न बजेटको अभाव हुन दिइने छैन् । उनका अनुसार एकीकृत शहरी विकास ऐनको मस्यौदा समेत अन्तिम चरणमा पुगेको छ । यता वीरेन्द्रनगरका समाजसेवी विनोद ढकाल सरकारी जमिन संरक्षण गर्दे बढ्दो अतिक्रण रोकेर सभ्य तथा सुन्दर वीरेन्द्रनगर शहर बनाउने तर्फ प्रदेश सरकार लाग्नु पर्ने बताउँछन । उनले पछिल्लो समय सुर्खेतमा बसाइँसराई गरेर आउनेको संख्या बाक्लिँदै गएकाले ठुलाठुला घर बन्ने र अव्यवस्थित बसोवास हुन थालेको औल्याए ।

‘अहिले वीरेन्द्रनगरमा गुरुयोजना विपरीत जग्गा अतिक्रमण, प्लटिङको काम भइरहेको छ । यस्तो अव्यवस्थित र कुरुप बनाउने काम जान्ने बुझ्ने व्यक्तिबाटै भइरहेको छ,’ उनले भने, ‘अव्यवस्थित र अस्तव्यस्त बन्न लागेको वीरेन्द्रनगरलाई प्रदेश सरकारले राजधानी शहरी एकीकृत विकास परियोजना सञ्चालन गरेपछि नियन्त्रित हुनेमा हामी विश्वस्त छौं ।’ उनले उद्योगधन्दा, कार्यालय, शैक्षिक संस्था, खेलक्षेत्र, ग्रीन क्षेत्र, खाली ठाउँ र खोला क्षेत्र पनि अहिले अतिक्रमण भइरहेको बताए । ‘संघीय संरचना अनुसार प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर भएसँगै आम नागरिक, कर्मचारी, नेता एवं प्रदेश सरकारका पदाधिकारीको आकर्षण बन्न पुगेपछि चाप बढ्न थालेको छ,’ उनले भने, ‘वीरेन्द्रनगरको प्रवेशद्वार सुव्वाकुनादेखि पश्चिम बांगेसिमलसम्म जग्गा प्लटिङ, खाली ठाउँ अतिक्रमण र राजमार्ग छेउछाउमा अव्यवस्थितरुपमा घर निर्माण हुनुका साथै ग्रीन क्षेत्रका लागि छुट्याएको क्षेत्र समेत अतिक्रमण हुन लागेको छ ।’ उनले हालको अव्यवस्थित शहरलाई राजधानी एकीकृत शहरी विकास आयोजनाले व्यवस्थित बनाउने विश्वास व्यक्त गरे ।

 

Translate »