अमेरिकामा शक्तिशाली समुन्द्री आँधी

चारजनाकाे मृत्यु

एजेन्सी / काठमाडौं ।
अमेरिकाको लुइजियाना राज्यमा शक्तिशाली समुद्री आँधीबाट कम्तीमा चार जनाको मृत्यु भएको छ । लरा नामक आँधीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् । आँधीपछि लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ । करिब २४० किलोमिटर प्रतिघण्टा गतिमा आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको बीबीसीले जनाएको छ । पाँच लाख घरपरिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । अमेरिकामा आएको सबभन्दा शक्तिशाली समुद्री आँधी मध्येको एक मानिएको हरिकेन लोराले आफ्नो राज्यमा निकै क्षति भएको भए पनि पहिले आशंका गरिएजति नभएको लुइजियानाका गभर्नर जोन बेल एड्वार्ड्सले बताएका छन्। छिमेकी टेक्सस राज्यका गभर्नर ग्रेग अबोटले पनि पूर्वानुमान गरिएभन्दा कम असर परेको बताउनु भएको छ । आँधी आउनु अगाडि टेक्ससका करिब ४ लाख २० हजार बासिन्दालाई घर छाड्न भनिएको थियो भने दक्षिण–पश्चिम लुइजियानामा थप २ लाख जनालाई सुरक्षित आश्रयस्थलमा जान भनिएको थियो ।

Translate »