मृत्यु भएको ९ दिनपछि कोरोना पुष्टि

कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षिय एक पुरुष साउन ३२ गते मोहन्याल गाउँपालिका वडा नम्वर ३ मा बेहोस भए। उपचारका लागि ल्याउने क्रममा मोहन्यालमै उनको ज्यान गयो। कैलालीको पहाडी भुभागमा रहेको मोहन्याल गाउँपालिकामा उनी काम गर्न गएका थिए । बर्दगोरिया ५ मा रहेको घरमा उनको शव ल्याएर थ्रोट स्वाव संकलन गरियो। भदौ १ गते नै उनको दाहसंस्कार गरियो। मृत्यु भएको ९ दिनपछि उनमा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ। संकलन भएको थ्रोट स्वाव परीक्षण गर्नमा भएको ढिलासुस्ती र लापरवाहीका कारण मृत्यु भएको ९ दिनपछि मात्र कोरोनाको संक्रमण थाह हुदाँ उनको मलामीमा गएका, सम्पर्कमा आएका व्यक्तीहरु समुदायमा घुलमिल हुँदा अवस्था जटिल भएको छ। ‘गाउँपालिकाबाट त थ्रोट स्वाव संकलन गरेर त्यही दिन पठाएको हो, माथी लापरवाही गर्दा ९ दिनपछि रिपोट आउँदा समस्या भएको छ’बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डगौराले भने,‘बुधवार मलामी गएका र उनको सम्पर्कमा आएकाहरु खोजी गरेर जाँचका लागि नमुना संकलन गरिएको छ।’ रिपोर्ट ढिलो आउँदा कोरोनाको संक्रमण समुदायमा फैलिएको आशंकाले स्थानीय त्रसित भएका छन् । भदौ १ गते स्वाव संकलन गरेर धनगढी पठाएको गाउँपालिका स्वास्थ्य शाखाका अधिकृत कृष्ण देव जोशीले बताए। सेती प्रादेशिक अस्पतालमा नमुनाको चाप बढी भएको भन्दै उक्त नमुना डडेल्धुरा पठाइएको थियो।

डडेल्धुरा प्रयोगशालामा भएको जाँचमा मंगलबार रिपोर्ट पोजेटिभ आएपछि कोराना पुष्टि भएको हो। सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख रामप्रसाद ओझाले धनगढीमा एक साता पहिले नमुनाको चाप बढेकोले जाँचका लागी नमुना डडेल्धुरा पठाइएको बताए। संवेदनशिल केसको स्वाव जाँचको रिपोर्ट २४ घण्टाभित्र निकाल्ने गरिएपनि समन्वयको अभावमा यसमा ढिलाई भएको उनको भनाई छ । ‘यो मृतकको स्वाव हो भनेर छुट्याएर नल्याइएकोले ढिलाई भएको हो’उनले भने,‘ मैले पनि रिपोर्ट आएपछि मात्रै थाह पाएको हुँ, समन्वयको कमीले यो ढिलाई हुन गएको हो। ’ भदौ १ गते झण्डै १ सय जना मलामी गएका थिए। मलामी गएका र उनको सम्पर्कमा आएका पनि समुदायमा घुलमिल भएकाले अवस्था भयाभह भएको स्थानीय बताउँछन्। यस अघि पनि भारतबाट आएकालाई क्वारेन्टाईनमा राखेर थ्रोट स्वाव संकलन गरेर रिपोर्ट नआउँदै घर पठाइने गर्नाले संक्रमण अरुमा सरेको थियो। क्वारेन्टाईनबाट घर पठाएर उनीहरु समुदायमा घुलमिल भएपछि संक्रमण पुष्टि भएको थियो। ‘समुदायमा कारोना संक्रमण भएकालाई जाँच गरेर अलग्याउनु पर्नेमा याहाँ उल्टो संक्रमितलाई समुदायमा घुलमिल हुन दिने चरम लापरवाही सरोकारवाला बाट भएको छ’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन ।

यसैगरि मंगलबार साँझ कोराना पुष्टि भएका गोदावरी नगरपालिकाका ४५ वर्षिय पुरुषको बुधबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । सुदूरपश्चिममा कोरोनाको संक्रमणले १४ जनाको ज्यान गैसकेको छ । चैत १४ गते पहिलो केस देखा परेको सुदूरपश्चिममा संक्रमण बढ्दै गएर संक्रमितको संख्या ५ हजार ४ सय ८३ जना संक्रमित भएका छन भने ४ हजार ५ सय ८९ निको भएर घर फर्केका छन । साउनको शुरुदेखि भारतवाट आएकालाई सिधै घर घर पठाउने, भारतीय नागरिकलाई अवैध रुपमा प्रवेश गराएर समुदायमा घुलमिल गराउने र संक्रमितलाई समेत घर घर पठाएर समुदायमा जान दिएपछि अहिले सुदूरपश्चिममा सुमदायमा कोरोनाको संक्रमण देखा परेको छ । यहाँ ट्राभल हिस्ट्रि नभएका प्रहरी, नेपाली सेना, बैकंका कर्मचारी, शिक्षक, सर्वसधारणमा कोरोनाको संक्रमण देखिएको छ। विज्ञ तथा बरिष्ठ फिजिसियन डा. सुभेशराज कायस्थल परीक्षणको दायरा नबढाइएकोले संक्रमण समुदायमा फैलिन थालेको बताउँछन्। ‘मेशिन थप भएर पनि परीक्षणको दायरा बढ्न सकेको अवस्था छैन’उनी भन्छन्,‘समुदायमा रहेका संक्रमितलाई परीक्षण गरेर अलग्याउन नसकेमा समुदायमा महामारी डरलाग्दो र थेग्न नसक्ने गरि फैलिने देखिन्छ । ’ ४ वटा मेशिनको क्षमता एक दिनमा ४ हजार भन्दा बढी जाँच गर्ने भएपनि जनशक्तीको अभाव लगायतका कारण दिनमा करिव १ हजार, १२ सयको औसतमा जाँच भैरहेको जनस्वास्थ्य प्रमुख ओझाले बताए ।

Translate »