खाद्यान्नमा आत्मनिर्भर बन्यो सल्यान

गत वर्ष मात्रै ८ हजार ७४३ मेट्रिकटन खाद्यान्न बचत

स्काई न्यूज / भदौ ११,सल्यान ।
देशका पहाडी र हिमाली जिल्लामा पर्याप्त खाद्यान्न उत्पादन नहुँदा खाद्यान्नमा तराईका जिल्लाको भर पर्नु पर्ने बाध्यता छ । तर, पछिल्लो समय पहाडी जिल्ला सल्यान खाद्यान्नमा आत्मनिर्भर हुँदै बचत गर्ने अवस्थामा पुग्न सफल भएको छ । केही वर्ष अघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान यतिबेला भने बचतको अवस्थामा पुगेको हो । खाद्यबाली अन्तर्गत पर्ने धान, मकै, कोदो र गहुँ लगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै सल्यान खाद्यान्नमा आत्मनिर्भर भई बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानले बताएको छ । मौसमी तालमेत, प्रविधि प्याकेजको प्रयोग, मलखाद, उन्नत बीउ, यान्त्रीकीकरण तथा किसानको सक्रियताका कारण सल्यान खाद्यान्न बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको उनको भनाइ छ । किसानले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न विक्रीवितरण गर्दै आएको कार्यालयले बताएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा ९७ हजार ६६४ मेट्रिकटन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिकटन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताए । जिल्लामा गत आर्थिक वर्षमा १६ हजार १०४ मेट्रिकटन धान, ५१ हजार १७३ मेट्रिकटन मकै, २९ हजार १३८ मेट्रिकटन गहुँ, ९२१ मेट्रिकटन कोदो र ३२५ मेट्रिकटन जौ उत्पादन भएको छ । जसमा ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ । यस्तै १९ हजार ३३५ हेक्टर क्षेत्रफलमा मकै, १४ हजार २१७ हेक्टर क्षेत्रफलमा गहुँ, ६७५ हेक्टर क्षेत्रफलमा कोदो र १ हजार ४० हेक्टर क्षेत्रफलमा जौखेती हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हाल प्रतिव्यक्ति वार्षिक २०१ किलो खाद्यान्न आवश्यक पर्ने कृषि विकास कार्यालय सल्यानको भनाइ छ । जिल्लामा उत्पादित कुल खाद्यान्न मध्ये ५४ हजार ७३८ मेट्रिकटन खाद्यान्न जिल्लामा आवश्यक पर्दछ । यस्तै कुल उत्पादनको ५ प्रतिशत अर्थात् ४ हजार ८८३ मेट्रिकटन खाद्यान्न मादकपदार्थ बनाउनमा प्रयोग हुने गरेको छ भने पशु आहारमा ३० प्रतिशत अर्थात् २९ हजार २९९ मेट्रिकटन खाद्यान्न प्रयोग हुने गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा रहेको बाँझो जमीनलाई उपयोगमा ल्याउनाका साथै व्यवसायीकरण र आधुनिकीकरण गर्न सके जिल्लामा खाद्यान्न उत्पादनमा अझै वृद्धि हुने कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

Translate »