दैलेखका ८६.६६ प्रतिशत नागरिक विद्युत्को पहुँच बाहिर

स्काई न्यूज / भदौ ९,दैलेख ।
नेपाल विद्युत् प्राधिकरणले ३ वर्षभित्र दैलेखमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको १ वर्ष बितिसक्दा पनि जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । जिल्लाका दुई स्थानीय तह र अन्य पालिकाका कतिपय वडा अझै विद्युत् सुविधाबाट वञ्चित छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका र ठाटीकाँध गाउँपालिका पूर्णरूपमा विद्युत् पहुँच बाहिर छन् भने अन्य पालिकामा पोल जडानदेखि लाइन विस्तारको काम भइरहेको छ । अनुमानित ३ लाख जनसंख्या रहेको दैलेखका हालसम्म १३ .३३ प्रतिशत नागरिक मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत्को पहुँचमा रहेको प्राधिकरणले जानकारी दिएको छ । विद्युत् प्राधिकरण शाखा कार्यालय दैलेखले हालसम्म जिल्लाभर करीब ८ हजार मात्र सेवाग्राही भएको बताएको छ । ठाटीकाँध र आठबीसमा विद्युत् नहुँदा पालिकाको कार्यसम्पादन समेत सौर्य प्रणालीबाट हुने गरेको छ ।

महावु, नौमुले, भगवती, डुंगेश्वर, गुराँस, भैरवी गाउँपालिकाका साथै नारायण र दुल्लु नगरपालिकामा राष्ट्रिय प्रसारणको विद्य्त् पुगेकोे प्राधिकरणले जानकारी दिएको छ । यद्यपि दुल्लु र नारायण नगरपालिकामा बाहेक अरू पालिकाको केन्द्रसम्म मात्र विद्युत् लाइन पुगेको छ । दुल्लु नगरपालिकाका करीब ६० प्रतिशत नागरिक विद्युत्को पहुँचमा रहेको नगरप्रमुख घनश्याम भण्डारीले बताए । ‘१३ ओटै वडाका केन्द्रमा विद्युतीकरण भइसकेको छ,’ उनले भने, ‘बाँकी ठाउँमा वितरण लाइनको काम भइरहेको छ ।’ सदरमुकाम समेत रहेको नारायण नगरपालिकाका ९ ओटा वडामा विद्युतीकरण भएको छ भने १०, ११, ४ वडामा विद्युत् पुग्न सकेको छैन । गतवर्ष महावु गाउँपालिकाको वडा नं २ मा प्राधिकरणसँगको साझेदारीमा रू. ७५ लाख लागतमा विद्युत् पु¥याउने काम भएको छ । नौमुले गाउँपालिकामा द्वारीखोला लघु जलविद्युत् निर्माण भएपछि गाउँपालिकाको केन्द्रमा विद्युत् जडान भए पनि गाउँपालिकाका अन्य वडाका बासिन्दा अन्धकारमै रहेको वडा नं ३ का शशिराम विकले बताए ।

दैलेखमा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम मार्फत २०७५ मा विद्युतीकरणका लागि रू. ६ करोड छुट्याए । तर, हालसम्म पनि उक्त कामले गति लिन नसकेको स्थानीय बताउँछन् । विद्युतीकरणका लागि जिल्लाका अधिकांश पालिकाले सामुदायिक ग्रामीण विद्युतीकरण साझेदारी कार्यक्रमसँग सहकार्य गर्न लागेका छन् । १० प्रतिशत सम्बन्धित स्थानीय तह र ९० प्रतिशत रकम उक्त कार्यक्रमले लगानी गरिदिने भएकाले स्थानीय तहहरूले रू. १ करोड बराबर रकम विनियोजन गरेका छन् । नारायण नगरपालिकाले बाँकी रहेका वडामा विद्युतीकरण गर्न टेण्डर भएर पनि ७ ओटा ट्रान्समिटर आइसकेको बताएको छ । भैरवीले भने गतवर्ष नै बजेट छुट्याएको थियो ।

यस्तै गुराँस गाउँपालिकाले रू. २ करोड लगानी गरी २० करोडको टेण्डर कार्य अघि बढाएको थियो । महावु, भगवतीमाई, नौमुले, डुंगेश्वर र गुराँस गाउँपालिकाले पनि साझेदारी गरेर अबको केही वर्षमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएका छन् । यद्यपि, अहिलेसम्म पोल जडानको काम मात्र भएको छ । गत आवमा आठबीस र ठाटीकाँधमा पोल जडानका लागि रू. २ करोडको टेण्डर भएको थियो । दुई पालिकाका लागि १००/१०० पोल जडान गर्ने भनिएको थियो । तर, हालसम्म ६२ ओटा मात्र जडान भएका छन् । चामुण्डादेखि ठाटीकाँध र ठाटीकाँधदेखि आठबीससम्म जडानका लागि एउटै रूट भएकाले ठाटीकाँधको रामाघाट खोलाभन्दा केही माथिसम्म जडान भएको विद्युत् प्राधिकरण शाखा कार्यालय दैलेखका सुपर भाइजर पूर्णबहादुर खत्रीले जानकारी दिए । आठबिस नगरपालिका दैलेखका प्रमुख खड्कराज उपाध्यायले विद्युत् अभावका कारण नगरपालिकाका धेरै काम प्रभावित भएको बताए ।
१४ करोडको काम नै शुरू भएन
प्राधिकरणको जिल्ला शाखा कार्यालयले दैलेखलाई ३ वर्षभित्र विद्युतीकरण गरिसक्ने लक्ष्यसहित रू. ७५ करोडको इस्टिमेट बनायर केन्द्रमा पठाएको थियोे, जसमध्ये गत आवमा १४ करोड रकम आएको थियो । तर त्यो रकमको टेण्डर मात्र भएको र काम अझै नभएको कार्यालयका सुपरभाइजर खत्रीले बताए । अब वर्षात्पछि काम शुरू हुन सक्ने उनको अनुमान छ ।

Translate »