उपल्लो डोल्पामा चामल पुगेन

रासस । उपल्लो डोल्पामा चामल ढुवानी नहुँदा खाद्यान्न समस्या भएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता रहेको र ढुवानीका लागि चीनले अनुमति नदिँदा खाद्यान्न समस्या भएको हो । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि चीनमा दुई नाका प्रयोग गर्नुपर्दछ । कोरोना भाइरसका कारण सबै उपल्लो डोल्पाका नागरिक घरमै रहेको समयमा खाद्यान्न नहुँदा समस्या भएको बताएका छन् ।

सदरमुकामस्थित डिपोमा चामल भरिभराउ भए पनि उपल्लो डोल्पामा चामलको गेडो नभएको हो । सदरमुकामबाट उपल्लो डोल्पामा ढुवानी गर्न सकिने भए पनि राज्यले ध्यान नदिएको उपल्लो डोल्पाका स्थानीयवासीको गुनासो रहेको छ । सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । विगतका वर्षमा उपल्लो डोल्पा जाने र आउने काम निरन्तर भइरहेकाले खासै समस्या नपर्ने भए पनि आर्थिक वर्ष २०७६/७७ मा एक गेडा चामल नगएको हो । यो आर्थिक वर्षमा पनि अहिलेसम्म ठेक्का भएको छैन । कोरोनाका कारण सर्वसाधारण दुनै, जाजरकोट र रुकुमपश्चिमका बजारसम्म पुग्न सकेका छैनन् । स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने उपल्लो डोल्पामा निकै समस्या भएको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासीतुन्डुप गुरुङले जानकारी दिए ।

Translate »