१ वर्षमा ३८१ किमी सडक निर्माण

१५६ किमी सडक स्तरोन्नति

स्काई न्यूज / भदौ ५,सुर्खेत ।
कर्णाली प्रदेश सरकारले १ वर्षको अवधिमा ३८१ किलोमिटर नयाँ सडक बनाएको छ । गत आर्थिक वर्षमा सडक निर्माण गरिएको वार्षिक प्रगति समीक्षा गर्दै प्रदेश सरकारले जानकारी गराएको हो । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार भौतिक प्रगति ५२ दशमलव ७५ प्रतिशत र वित्तीय प्रगति ४५ दशमलव ८५ प्रतिशत छ । सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको मन्त्रालयले विभिन्न जिल्लामा ३८१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको बताएको छ । यस्तै सोही अवधिमा प्रदेशभर १५६ किलोमिटर सडकको स्तरोन्तति गरिएको वार्षिक समीक्षामा भनिएको छ । सो अवधिमा ४९ किलोमिटर सडकको ग्राभेल गरिएको छ । मन्त्रालयले विभिन्न जिल्लामा १६ ओटा पक्की पुल र २७ किलोमिटर नालीसमेत निर्माण गरेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम, जनता सडक कार्यक्रम कार्यान्वयन गरेको छ । यस्तै प्रदेश राजधानीबाट जिल्ला सदरमुकाम जोड्ने रणनीतिक सडकको निर्माण र स्तरोन्नति गरिएको छ ।


तर अन्य प्रदेशसँग जोड्ने रणनीतिक सडकहरू सुर्खेत–तेलपानी–भुरीगाउँ सुरुङमार्ग, लैफु–रूपसा–रामारोशन अछाम, बाजुरा–कवाडी–ताजाकोट–अदानचुली–सर्केगाड–खार्पुनाथ खगालगाउँ नाम्खा, रुकुम–कालीमाटी–कोहलपुर, रानीघाट–कर्णाली चिसापानी लगायत सकडको सम्भाव्यता अध्ययन भने यो अवधिमा हुन सकेन । सडक पूर्वाधारको विकासविना कर्णालीको समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै प्रदेश सरकारले गत आर्थिक वर्षको जनता सडक कार्यक्रमलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । जनता सडक कार्यक्रमका निर्माणाधीन आयोजना काम सम्पन्न गर्न चालू आर्थिक वर्षमा १ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै स्थानीय तहको केन्द्रदेखि जिल्ला सदरमुकामसम्म पहुँच नभएका स्थानमा सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न १५ करोड रुपैयाँ छुट्याइएको छ । यो वर्ष प्रदेश सरकारले सडक र यातायाततर्फ ५ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली प्रदेशमा भरपर्दो सडक पूर्वाधारको गुरुयोजना तयार, स्वदेशी तथा विदेशी पूँजी परिचालन गरी रणनीतिक महत्त्वको सुर्खेत हिल्सा द्रुतमार्ग निर्माण, उत्तर–दक्षिण कोरिडोरका साथै रणनीतिक सडक निर्माण अघि बढाउन नेपाल सरकारसँग थप समन्वय र सहकार्य गर्ने लगायत योजना प्रदेश सरकारका प्राथमिकतामा छन् ।

कर्णाली प्रदेशका दश जिल्लामध्ये प्रदेश सरकारले दैलेख र रुकुमपश्चिममा गत आवमा सबैभन्दा बढी अर्थात् ७३=७३ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । यस्तै सल्यान र जाजरकोट दुवैमा समान ५० किलोमिटर, हुम्लामा साढे १४ किलोमिटर, कालीकोटमा १४ किलोमिटर, दैलेखमा साढे २ किलोमिटर, जुम्लामा ४५ किलोमिटर र सुर्खेतमा २५ किलोमिटर सडकको ट्र्याक खोलिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ । यस्तै सुर्खेतमा ११० किलोमिटर, जाजरकोट र मुगुमा समान ३ किलोमिटर, जुम्लामा ६ किलोमिटर, कालीकोटमा २९ किलोमिटर र सल्यानमा ५ किलोमिटर गरी प्रदेशभर कुल १५६ किलोमिटर सडक स्तरोन्नति गरिएको छ । साथै सुर्खेतमा १२, जुम्लामा साढे १, दैलेखमा साढे २, सल्यानमा ७ र रुकुमपश्चिममा २६ किलोमिटर गरी कुल ४९ किलोमिटर सडक ग्राभेल गरिएको छ । सुर्खेतमा ७२० मिटर र रुकुम पश्चिममा सवा किलोमिटर गरी कुल पौने २ किलोमिटर सडक कालोपत्र गरिएको मन्त्रालयका प्रवक्ता गोपाल शर्माले जानकारी दिए । प्रदेशमा पूर्वाधार विकास निर्माणको १० करोड भन्दा बढी रकम डीपीआर निर्माणमा सकिएको छ । यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूले डीपीआर निर्माणमा १० करोड ५९ लाख १ हजार ३९५ रुपैयाँ खर्च गरेको वार्षिक प्रगति विवरणमा उल्लेख छ ।

Translate »