दैलेखमा पनि निषेधाज्ञा

स्काई न्यूज / भादौ ४, सुर्खेत ।
दैलेखमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । तीजका बेला हुने भिडभाडले कोभिड १९ संक्रमण फैलिने जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । आजै (बिहीबार) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तीजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । पछिल्लो दिनहरूमा बजार क्षेत्रमा भिडभाड बढेको छ । ‘भिडबाट संक्रमण फैलिन सक्ने भएकाले त्यस्को जोखिम न्यूनीकरण गर्न निषेधाज्ञा जारी गरिएको हो,’ उनले भने । जिल्लाको पूर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालीकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालीकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमानाभित्र कुनै पनि गतिविधि नगर्न नगराउन आदेश जारी गरेको छ । निषेधाज्ञा अवधिभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी, विद्युत, फोहोरमैला व्यवस्थापन लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य कुनै पनि सेवाहरू सञ्चालन गर्न निषेध गरिएको छ ।

Translate »