कपुरकोटमा विषादी परीक्षण प्रयोगशाला भवन निर्माण

स्काई न्यूज / भदौ ४,सल्यान ।
सल्यानको कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषि उपज बजार केन्द्र कपुरकोट मार्फत प्रयोगशाला निर्माण गरिएको हो । अब यसै आर्थिक वर्षमा विषादी परीक्षणका लागि आवश्यक उपकरण सहित कर्मचारीको व्यवस्था गरिने कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । बाहिरबाट आउने तरकारी फलफूल, मासु लगायत खाद्य वस्तुमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण गरिएको हो । विषादी प्रयोग भएका वस्तु कर्णालीमा भित्रन नदिने र अग्र्यानिक प्रदेश निर्माण गर्ने उद्देश्य अनुरूप प्रयोगशाला निर्माण गरिएको मन्त्री केसीको भनाइ छ । प्रयोगशाला अवलोकनका लागि कपुरकोट आएकी मन्त्री केसीलाई गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भीमबहादुर सेनले सबै प्रकारको विषादी परीक्षण हुनेगरी प्रयोगशालालाई प्रविधियुक्त बनाउन आग्रह गरे ।

उनले प्रयोगशालाको व्यवस्थापन र निरन्तरताका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । यसैबीच, कपुरकोटमा शीत भण्डार निर्माण यसै वर्षदेखि अगाडि बढाउने समझदारी भएको छ । मन्त्री केसी र गाउँपालिका अध्यक्ष सेनबीच कपुरकोटमा तत्काल ५० लाख रुपैयाँ बजेटमार्फत शीत भण्डारका लागि काम अगाडि बढाउने विषयमा छलफल भएको हो । कृषिको व्यावसायिकता विकासका लागि शीत भण्डार कोसेढुंगा सावित हुने विश्वास मन्त्री केसीको छ । जिल्ला कृषि सेवा कार्यालय सल्यानलाई कपुरकोट गाउँपालिकासँग समन्वय गरेर शीत भण्डारको कार्य अगाडि बढाउन उनले निर्देशन दिएकी छिन् । गाउँपालिका अध्यक्ष सेनले कपुरकोट क्षेत्र तरकारी तथा फलफूलका लागि पकेट क्षेत्र भएकाले प्रदेश सरकारले थप विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । सहकारी भवन निर्माण, कृषिको यान्त्रिकीकरण जस्ता कार्यक्रममा लगानी बढाउन मन्त्री केसीलाई उनले आग्रह गरेका थिए ।

Translate »