कर्णालीमा ४३ जना संक्रमित थपिए

स्काई न्यूज /भदौं ३, सुर्खेत ।
कर्णाली प्रदेशमा एक जना प्रदेशसभा सांसदसहित ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार साविकको कर्णालीबाट प्रतिनिधित्व गर्ने एक जना प्रदेश सांसदमा कोरोना संक्रमण देखिएको हो । भदौ १ गते जनस्वास्थ्य कार्यालय सुर्खेतमा स्वाव दिएका प्रदेश सांसदको बुधबार कोरोना पोजेटिभ देखिएको हो । यस्तै प्रदेश राजधानी वीरेन्द्रनगरको एक क्याम्पस प्रमुखमा पनि कोरोना संक्रमण देखिएको छ। अघिल्लो महिना क्याम्पस प्रमुख नियुक्त भएका उनी ठाउँठाउँमा सम्मान थाप्दै हिँडिरहेका थिए । यस्तै एक जना रेडक्रसकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ भने हालै बाँकेको नेपालगञ्जमा उपचार गरेर फर्किएका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार कर्णाली प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका १७, सुर्खेतका १०, दैलेख, डोल्पा र कास्कीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका १७ जना, सुर्खेतको चौकुने गाउँपालिकाका चार वर्षीया बालिकासहित चार जना, वीरेन्द्रनगर नगरपालिकाका छ जना, दैलेखको दुल्लु नगरपालिकाका एक जना, डोल्पाको जगदुल्ला गाउँपालिकाका एक जना र कास्कीको मादी गाउँपालिकाका एकमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै जुम्लामा गरिएको परीक्षणका क्रममा जुम्लामा नौ जना, दैलेखका तीन जना र बाँकेका एक जनामा कोरोना संक्रमण देखिएको हो । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका दुई वर्षीय बालकसहित तीन जना, जुम्लाको हिमा गाउँपालिकाका आठ जना, सिंजा गाउँपालिकाका एक जना र बाँकेको बैजनाथ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Translate »