दैलेखका घाइतेहरुको १७ घण्टापछि हेलिकप्टरबाट उद्धार

स्काई न्यूज/ भदौ ३, दैलेख ।
मंगलवार राती पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा गएको पहिरोमा परेका तीन जना घाइतेहरुको करीब १७ घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।  उपचारको लागि उनीहरुलाइ नेपाली सेनाको एनए ०३८० नम्बरको हेलिकप्टरबाट स्थानीयतह र जिल्ला प्रशासनको पहलमा बुधवार बेलुका साढे ४ बजे सुर्खेत लगिएको हो  ।  घाइते ४२ वर्षीय टिकाराम कठायत, उनका १५ वर्षीय छोरा शम्शेर कठायत, २३ वर्षका बम्म नेपालीलाई उपचारको लागि हेलिकप्टरबाट सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

अरु दुई जना घाइतेहरु ४० वर्षीय धनसरा कठायत र ३४ वर्षीय महेन्द्र शाहीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ,’ उनले भने । उद्धार गरिएका घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार शुरु भएको बताइएको छ । पहिरोमा पुरिएर टिकारामका कान्छा छोरा १२ वर्षीय बालक जनक कठायत, घर भत्किँदा भगवतीमाई गाउँपालिका–५ कट्टीका ६६ वर्षीय बलबहादुर रावत र खोलाले बगाउँदा नौमूले गाउँपालिका–४ कालिकाका २१ वर्षीय भविलाल बुढामगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँका ११ वर्षीय बालक लोकेश कठायत पहिरोमा वेपत्ता भएको उनको स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज हरीबहादुर ओलीले जानकारी दिए ।

Translate »