खरको छानामुक्त अभियानमा नारायण नगरपालिका

पहिलो चरणमा ३०० भन्दा बढी घरमा जस्ताको छानो लगाइँदै

स्काई न्यूज / भदौ २,दैलेख ।
यहाँको नारायण नगरपालिकाले नगरपालिकालाई खरमुक्त गर्ने अभियानलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले पहिलो चरणमा ३०० भन्दा बढी खरका छानाहरूमा जस्ता लगाउने योजना अन्तर्गत नगरपालिकाको लोगोसहितको जस्तापाताहरू खरीद गरेर ल्याइसकेको बताइएको छ । अभियान सफल पार्नका लागि संघीय सरकारको रू. १ करोड, प्रदेश सरकारको रू. ३५ लाख र नगरपालिकाको रू. ३० लाख रकम खर्च गरिने भएको छ । नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पालिकाभित्रका ११ ओटै वडा कार्यालयले विपन्न परिवारको लगत संकलन गरी वडाकै सिफारिसमा कार्यालयले जस्तापाता वितरण गर्न लागेको बताए । वर्षौंदेखि खरको छानामा बस्ने विपन्न परिवारले जस्तापाता पाउने भएपछि अहिले खुुशी छन् । प्रमुख खड्काले भने, ‘अहिले नगरपालिकाको स्टोरमा राखेका छौं । क्रमश सबै वडामा वितरण गर्छौं । वडा नम्बर १० का ५१ घरधूरीलाई भने वितरण गरिसकिएको छ ।’ १० नम्बर वडाकी लक्ष्मी सुनारले जस्तापाता पाउँदा आफूजस्ता धेरै विपन्न परिवार खुशी भएको बताइन् ।

उनले भनिन्, ‘पानी पर्दा खरको छाना चुहिएर रातभरी सुत्न पाउँदैन थियौं । जाग्राम बस्नु पर्थ्यो । जस्तापाता पाएपछि अब ढुक्कसँगले सुत्न पाउने भयौं ।’ उनी मात्र होइन पहिलो चरणममा वडा नं.१ मा ३९ विपन्न परिवारमध्ये १२ घरधूरी, वडा नं. २ मा ६६ मध्ये २१, वडा नं. ३ मा ६८ मध्ये २१, वडा नं. ४ मा २१९ मध्ये ७० र वडा नं. ५ मा ८७ मध्ये ३७ घरधूरीमा जस्ताको छाना लगाइने भएको छ । यस्तै वडा नं.६ मा ३८ मध्ये १२, वडा नं. ७ का ५५ मध्ये १७, वडा नं. ८ का सबै १५, वडा नं. ९ का ६६ मध्ये २१, वडा नं. १० का १६५ मध्ये ५१ र वडा नं. ११ बा ७४ मध्ये २३ घरधूरीमा खरको सट्टा जस्तापाताको छानो लगाइँदै छ । ८८९ घरधूरी मध्ये ३०० घरधूरी पहिलो चरणमा र बाँकी ५८९ घरधूरीले चालू आर्थिक वर्षमा जस्तापाता पाउने नगरपालिकालाई खरको छानामुक्त गरिने नगरप्रमुख रत्नबहादुर खडकाले अभियान दैनिकलाई जानकारी दिए । वर्षौंदेखि पानी चुहिने डर हिउँदे हावाहुरीले छाना उडाउने डरले कहिल्यै पनि सुत्दैन थियौं । जस्ता पाताले छाना छाउने भएपछि ढुक्क भएको जस्ता पाता पाउने वडा नं. १० का लाभग्राहीहरूले बताए । पहिलोपटक वडा नं. ८ का छनोट भएका १५ घरधूरीलाई जस्तापाता दिई खरको छानामुक्त गरिसकेको पालिकाले बताएको छ । यस्तै नागरिकहरूको पनि अपनत्व हुने गरी जस्तामा लाग्ने किलालगायत केही सामग्रीहरू भने स्थानीय आफैंले किनेर प्रयोग गर्नु पर्ने उनको भनाइ छ ।

Translate »