चौकुनेमा आयुर्वेद सेवा केन्द्र स्थापना हुँदै

पूर्वाधार अभावले जडीबुटी खेर

स्काई न्यूज /साउन ३२, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा आयुर्वेद सेवा केन्द्र स्थापना हुने भएको छ । नेपाल सरकारले प्रदेश आयुर्वेद औषधालय र चौकुने गाउँपालिकाको समन्वयमा पहिलो पटक चौकुने गाउँपालिकाको गुटुमा आयुर्वेद सेवा केन्द्र स्थापना गर्न लागेको हो । आयुर्वेद उपचार केन्द्रमा आधारभूत आयुर्वेद सेवा, सामान्य आयुर्वेद सेवा, जीवनशैली परिवर्तन सम्बन्धि आहार–विहार, प्राकृतिक खानपान, योग, ध्यान प्रणायाम लगायतका सेवाहरु उपलब्ध हुने छन् । नेपाल सरकारको नागरिक आरोग्य सेवा केन्द्र स्थापना गर्ने कार्यक्रम अन्तर्गत चौकुने गाउँपालिकामा आयुर्वेद सेवा केन्द्र स्थापना गर्न लागिएको प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए । उनले चौकुने गाउँसभाबाट आयुर्वेद सेवा केन्द्र स्थापना गर्नका लागि आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन गरिएकाले यस वर्ष चौकुनेलाई नै पहिलो प्राथमिकतामा राखिएको बताए । ‘आयुर्वेदको कुनैपनि पहुँच नपुगेको चौकुने गाउँपालिकाका विभिन्न जंगलमा पर्याप्त जडिबुटी भएपनि शोध, अनुसन्धानको अभावमा त्यतिकै खेर गईरहेका छन,’ उनले भने, ‘हाललाई आयुर्वेद उपचार केन्द्र स्थापना भएपनि त्यहाँका नागरिकले आयुर्वेदको महत्व, जडिबुटीको पहिचान र प्रभावका बारेमा केही न केही लाभ पक्कै पाउने छन् ।’ उनले चौकुने गाउँपालिका र प्रदेश आयुर्वेद औषधालय मार्फत कर्मचारी व्यवस्थापन गरेर तत्कालै आयुर्वेद उपचार सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको जनाए । उनका अनुसार गाउँपालिकाकाले आयुर्वेद उपचार सेवा केन्द्र सञ्चालनका लागि भौतिक पूर्वाधारसँगै कम्तिमा दुई जना जनशक्ति उपलब्ध गराउनु पर्नेछ । कर्णाली प्रदेश आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष दिपेन्द्र कँडेलले आयुर्वेद औषधिको प्रचारप्रसारसँगै कर्णाली प्रदेशका सबै पालिकामा अनिवार्य आयुर्वेद शाखा सञ्चालन गर्न सरकारलाई नै नैतिक दवाव दिईरहेको बताए । ‘प्रदेशका सबै पालिकामा प्रदेश सरकारसँग आयुर्वेदको विस्तार तथा उन्नयनका लागि निरन्तर माग गरिरहेका छौं,’ उनले भने, ‘आयुर्वेद स्वास्थ्यकर्मी समाज मार्फत विभिन्न निकायलाई आयुर्वेद औषधिको प्रयोग तथा उपयोगिताका लागि जानकारी समेत दिने गरेको छ ।’ उनले समाजकै निरन्तर प्रयासकै कारण संघीय सरकार, प्रदेश आयुर्वेद औषधालय र चौकुने गाउँपालिकाको सहयोगमा गुटुमा स्थायी रुपमै आयुर्वेद उपचार सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको दावी गरे ।


यता चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आयुर्वेद सेवा केन्द्र सञ्चालनका लागि जनशक्तिसँगै भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकिएको जनाए । ‘पूर्वाधार विकास अभावले पछाडी परेको चौकुने गाउँपालिकामा आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चाँसो र माग शुरु देखि नै रहि आएको छ,’ उनले भने, ‘गाउँपालिकाले आयुर्वेदको कुनैपनि पूर्वाधार नरहेको चौकुनेमा आयुर्वेद सेवा केन्द्र मात्र होइन, कम्तीमा २५ शैयाको आयुर्वेद चिकित्सालय खोल्न नेपाल सरकारसँगै प्रदेश सरकारसँग माग गर्दै आईरहेको छ ।’ उनले आयुर्वेदको विकास तथा उन्नतिका लाग गाउँपालिका सदैव तयार रहेको जिकिर गरे । चालु आर्थिक वर्षदेखि चौकुने गाउँपालिकाले आयुर्वेद सेवा केन्द्र सञ्चालनमा ल्याउनका लागि तयारी भईरहेको प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए । उनले चौकुनेमा आयुर्वेद सेवा केन्द्र सञ्चालनसँगै जडिबुटी संकलन एवं प्रशोधन केन्द्र स्थापना गर्न जरुरी रहेको औल्याए । ‘चौकुने गाउँपालिकाका लेकाली डाँडाहरुमा खोज तथा अनुसन्धानको अभावमा विभिन्न प्रकारका जडिबुटी खेर गईरहेका छन,’ उनले भने, ‘गाउँपालिकाले जडिबुटीको खोज, अनुसन्धानसँगै संकलन, प्रशोधनलगायतका कार्य गर्न प्रदेश तथा केन्द्र सरकारको सहयोग एवं समन्वयको अपेक्षा राख्दछ ।’
खेर जाँदै बहुमूल्य जडीबुटी
पश्चिम सुर्खेतका लेकाली डाँडाहरूमा पाइने बहुमूल्य जडीबुटी संरक्षण तथा उपयोग नहुँदा खेर गइरहेका छन् । जैविक विविधताले भरिपूर्ण चौकुने पहाड आसपासका क्षेत्रमा पाइने दुर्लभ जडीबुटीको वैज्ञानिक खोज, अनुसन्धान तथा उपयोग नहुँदा छाडा चौपायाको चरन बनेको छ । ‘यस क्षेत्रका बासिन्दा बहुमूल्य जडीबुटीबारे अनभिज्ञ छन् । सरकारी स्तरबाट अहिलेसम्म कुनै अध्ययन, अनुसन्धान हुन सकेको छैन,’ गुटुका समाजसेवी काशीराम देवकोटाले भने । उनका अनुसार यहाँको राष्ट्रिय तथा सामुदायिक वनभित्र पाइने जडीबुटीको प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग माग गरे पनि सुनुवाइ भएको छैन । चौकुनेमा सबैभन्दा बढी पाइने वनस्पति टिमुर र काउलो हो । यसबाहेक तेजपत्ता, दालचिनी, समयो, जटामसी, सुनाखरी, विषजरा, सतुवा, सुनगाभा, भुतले, कुटकी, बोजो, चिराइतो, जामुने, मान्द्रो, लोठ सल्ला, उकु डाइना, सतुवा, कुरिलो, पाखनबेत, वनलसुन, सिलाजीतलगायत पाइने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

‘गाउँले बिमारी पर्दा ती जडीबुटीको कुनै न कुनैरुपमा प्रयोग गर्दै आएको भए पनि यसको व्यावसायिक उपयोग हुन सकेको छैन,’ गुटुका अर्का समाजसेवी देवबहादुर थापाले भने, ‘चौकुनेका बहुमूल्य जडीबुटीको उपयोग हुन नसक्दा वर्षेनि करोडौं आम्दानी खेर गइरहेको छ ।’ डिभिजन वन कार्यालय, सुर्खेतका अनुसार नेपालमा पाइने २१८ प्रजातिका जडीबुटीमध्ये सुर्खेतका जंगलमा १५७ प्रजाति पाइन्छन् । प्राविधिक ज्ञान र लगानीको अभावमा जडीबुटीको व्यावसायिक संकलन र विक्री हुन नसक्दा राज्यको आयस्रोत गुमेको सहायक वन अधिकृत टेकबहादुर रावलले बताए । जडीबुटीमा सम्भावना भए पनि विभिन्न कारणले लगानीकर्ता यसको व्यापारतर्फ आकर्षित हुन नसकेको सुर्खेत उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रकाश अधिकारीले बताए । उनका अनुसार जडीबुुटीको असन्तुलित बजार, व्यावसायिक सुरक्षाको कमी, पूर्वाधार, जडीबुटीको तथ्यांक र स्थानीयवासीमा चेतनाको अभावजस्ता समस्या छन् । त्यसैले, जडीबुटीलाई आयस्रोतको रूपमा विकास गर्न केन्द्रीय स्तरबाट स्पष्ट नीति बनाई सम्भाव्यता अध्ययन गर्नुपर्ने संघका महासचिव लक्ष्मण कँडेलले बताए । त्यसो हुन सके मात्र लगानीकर्ता आकर्षित हुने र राज्य तथा स्थानीय बासिन्दालाई फाइदा पुग्ने उनको भनाइ छ ।

Translate »