प्रदेश राजधानीमा कोरोना जोखिम बढ्दै

वीरेन्द्रनगर नगरपालिका एक साता बन्द

स्काई न्यूज साउन २९, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता सेवा बन्द गर्ने भएको छ । नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको हो । साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिका, सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए । उनले नगरमा संक्रमितको संख्या बढ्दै गएकाले नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले बुधबार यस्तो निर्णय गरिएको जानकारी दिए । उनका अनुसार यो अवधिमा स्वास्थ्य, सरसफाइ, फोहोरमैला तथा विपद् व्यवस्थापनबाहेकका कुनै पनि सेवा प्रवाह हुने छैनन् । नगरपालिकामा १६ वटा वडा रहेका छन् । पछिल्लो समय वीरेन्द्रनगरमा बाहिर घुमफिर नगरेका धेरै जनामा कोरोना संक्रमण भएको पाइएको छ । वीरेन्द्रनगरमा बुधवार बिहान थप १९ जना र विहीबार १८ जनामा संक्रमण देखियो । बुधबार संक्रमण देखिएका १९ मध्ये ५ जना संक्रमित भने कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका समुदायस्तरका हुन् ।


वीरेन्द्रनगरमा जोखिम बढ्दै
प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । बन्दाबन्दी (लकडाउन) खुलेसँगै बजारमा सर्वसाधारणको भीडभाड बढ्नु र सरकारले निर्धारण गरेको जोखिम न्यूनीकरणका उपायन अपनाउँदा यहाँ जोखिम बढेको हो । स्वास्थ्य सुरक्षाका विधि नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको स्थानीयको भनाइ छ । समुदायस्तरका कोरोना देखिएकाले परीक्षणको दायरा बढाउनु पर्ने स्थानीयको माग छ । वीरेन्द्रनगरमा मात्रै एक हजार पाँच सय ९१ जनाको स्वाब परीक्षण गरिएको छ । जसमध्ये एक सय ७६ जनामा कोरोना देखिएको छ । पछिल्लो संक्रमणको अवस्थाले वीरेन्द्रनगर संक्रमणको उच्च जोखिमा रहेको देखिने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । ‘पछिल्लो अवस्था हेर्दा समुदायमा कोरोना संक्रमणको जोखिम बढी छ भन्ने संकेत दिएको छ’ उनले भने, ‘जिल्लाका अन्य पालिकाभन्दा वीरेन्द्रनगर उच्च जोखिममा छ ।’
कर्णालीका २०९२ जना संक्रमित
कर्णालीमा बिहीबार १८ जनामा कोरोना संक्रमण देखिएसँगै कर्णालीमा दुई हजार ९२ जनाको कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा तीन सय ६२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक सय ११, दैलेख अस्पताल एक सय ९ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा एक सय १२ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्ये प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको थियो। हालसम्म कर्णाली ४६ हजार ६२ कोरोना परीक्षण गरिएको छ ।

Translate »