चिंगाडको केन्द्र सार्ने विवाद अदालतमा

स्काई न्यूज /साउन २७, सुर्खेत ।
चिंगाड गाउँपालिकाको केन्द्र विवाद उच्च अदालत पुगेको छ । अलवचिङ्गमा रहेको गाउँपालिका केन्द्रलाई कार्यपालिकाको बैठकले पुँगखेत सार्ने निर्णयको विरोधमा स्थानीय बासिन्दाले रिट उच्च अदालत सुर्खेतमा पु¥याएका हुन् । गाउँपालिका केन्द्र विवादबारे यहीं साउन २६ गते दर्ता भएको मुद्धा माथि अदालतले मंगलबार दुबै पक्षलाई साउन ३२ गते छलफलमा बोलाएको छ । गाउँपालिकाले यसअघि २०७५ माघ ७ गतेको गाउँसभाबाट गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति स्थानीयले विरोध र असहमति जाहेर गरेपछि १८ महिना सेलाएको थियो । गाउँकार्यपालिकाको २०७७ असार ९ गते बसेको बैठकले पुनः अवलचिङ्गबाट पुँगखेतमा केन्द्र सार्ने निर्णयलाई अनुमोदन गर्न कर्णाली प्रदेश सरकारलाई गरेको आग्रह स्थानीयबासिन्दाले थाहापाएपछि उनीहरु उच्च अदालत पुगेका हुन् । गाउँ कार्यापालिकाले प्रशासनिक केन्द्र पुँगखेत तोक्ने निर्णय गरेपछि त्यसको विरोधमा वडा नम्बर ५ का लालबहादुर जिसी, भक्तबहादुर आरसी, मोहन राना र तिलबहादुर रानाले उच्च अदालतमा रिट हालेका थिए । मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले कार्यापालिकाको निर्णय कार्यान्वयन गर्ने नगर्ने विषयमा दुवै पक्ष संग छलफल गरी निर्णय गर्नुपर्ने भन्दै दुवै पक्षलाई बोलाएको हो । मापदण्डविना पालिकाको केन्द्र खोला किनारमा सार्न खोजिएको भन्दै गाउँपालिकाको निर्णय चित्त नबुझाउनेहरुले सबैलाई पायक पर्ने स्थानमा केन्द्र तोकिनुपर्ने तर्क गर्दै आएका छन् । २०७५ माघ ५ गते चिंगाड गाउँकार्यपालिकाले पुँगखेतमा पालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो । हाल चिंगाड–५ अवलचिङबाट पालिकाको प्रशासनिक कार्य सञ्चालन भइरहेको छ ।

Translate »