कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

साउन २५, काठमाडौँ ।
कोभिड–१९ को जोखिम उच्च बने पछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार सूचना निकालेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैकले आग्रह गरेको छ । ‘सोही योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने,’ सूचनामा भनिएको छ । सरकारले देशको विभिन्न स्थानमा बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायत विशेष परिस्थितिलाई मध्येनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले भनेको छ । यस्तै, प्रदेशमा सञ्चालन भएका शाखाहरुको हकमा सम्बन्धित, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णयबमोजिम गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । ‘प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट संस्था सञ्चालन गर्ने तथा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोहीबमोजिम सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो रुपमा सञ्चालनको व्यवस्था मिलाउने ।’लकडाउनको कारणले सञ्चालन हुन नसकेको शाखाको विवरण नियमित रुपमा राष्ट्र बैंकमा उपलब्ध गराउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Translate »