सिलप्याक पानीमा नै जिउँदो किरा

के जारको पानी पिउनयोग्य छ त ?

स्काइ न्यूज /साउन २४, सुर्खेत ।
पिउनको लागि सजिलो र स्वस्थकर पानी भनेर सिलप्याक गरेर बोतलमा राखिएको मिनरल वाटरलाई मानिसहरुले आफ्नो रोजाईमा पार्ने गर्दछन् । तर त्यो बोतलको पानी पिउनको लागि कत्तिको स्वच्छ छ भन्ने कुरामा भने आम उपभोक्ता त्यति चनाखो भएको पाइँदैन । पानी मानव जीवनको अति नै आवाश्यक चिज हो । यदि पानी नै पिउन अयोग्य छ भने त्यसलाई मानिसले पियो भने के हुन्छ ? सुर्खेतमा पिउनकोलागि सजिलो र स्वस्थकर मानिने जारको पानीमा नै जिउँदै किरा पाईएको छ । जिल्लाका विभिन्न स्थानमा सञ्चालित पानी प्रशोधन उद्योगहरुले उत्पादन गरेको जारको पानीमा जिउँदै किरा, लेउ, कसिंगर फेला पर्ने गरेका छन् । वर्षात लागे यता दुषित देखिएका पानीमा लेउ लागेको, किरा भेटिएको, रौं परेको, नदेखिने प्लास्टिकका टुक्रा भेटिएको, गन्हाएको, कमिला परेको लगायतका गुनासोहरु समेत सुर्खेतबासीले गर्न थालेका छन् । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले दुषित पानी उत्पादन गर्ने उद्योग बन्द गर्नुपर्ने माग राख्दै आएको छ ।


जारको पानीमा जिउँदो जुका 
हामी कुनै रेष्टुरेण्टमा गयौं र पिउनेपानी माग्यौँ भने उनीहरुले जारको पानी भन्ने जवाफ दिन्छन् । हामी पनि कस्तो पानी हो भनेर सोध्छौं र जारको पानी भन्ने सुनेपछि ढुक्क भएर पानी पिउछौं । तर के जारको पानी पिउनयोग्य नै हुन्छ त ?

पहिला यो भिडियो हेर्नुहोस्

यो भिडियो शनिबार भेरीगंगा नगरपालिका–१०, छिन्चु बजारमा खिचिएको हो ।  छिन्चु बजारमा पिउनेपानीको जारमा जिउँदो जुका भेटिए छ । छिन्चु बजारको न्यू मनकामना होटलका सञ्चालकले पिउनयोग्य हुने भन्दै जारको पानी मगाएका थिए । एक्वान्स नाम रहेको जारको पानी उनले लामो समयदेखि प्रयोग गर्ने गरेका थिए र शनिबार पनि त्यही पानी मगाएका थिए । पहिले पहिले उनले जारको पानीलाई त्यति नियालेर हेर्ने गरेका पनि थिएनन् । तर शनिबार भने पानीको जारको माथि नै जिउँदो जुका हिँडिरहेको देखे । सिल नै नतोडिएको पानीको जारभित्र जिउँदो जुका हिँडिरहेको देखेपछि उनले सम्बन्धित पक्षलाई सम्पर्क गरे ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्र स्थित वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको एक्वान्स ब्राण्डको पानी जार हो । जारको सिल नतोडिएको पानीको जारभित्रै जिउँदो जुका भेटिएपछि एउटा जार ईलाका प्रहरी कार्यालय छिन्चुले सुरक्षित राखेको बताएको छ । ईप्रका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले जारको पानी भित्र जुँका जस्तो देखिने किरा परेको गुनासो स्थानीयले गरेपछि जाँचबुँझका लागि एउटा जार राखिएको जनाए ।  ‘प्रशोधित पिउने पानी’को जारभित्रै जिउँदो जुका भेटिएपछि सुर्खेत उपत्यका लगायतका स्थानमा उपलब्ध हुने जारको पानी कत्तिको स्वस्थकर छ भनेर प्रश्न गर्नुपर्ने बेला भएको छ । प्रशोधन गरेर मात्रै बजारमा पठाउनुपर्ने पानीमा कोलिफर्म फ्रि हुनुपर्छ भने अन्य अखाद्य तत्व पनि प्रशोधन गेर हटाउनुपर्छ । तर जिल्ला भित्रैबाट उत्पादित पानीमै जिउँदो जुका भेटिएपछि पिउने पानीको दयनीय अवस्था उजागार हुन्छ । पानीमा जुका भेटिएपछि शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलाई फोन गर्दा सम्पर्क हुन सकेको थिएन् । अब उक्त पानीको थप परीक्षण गरेर नै उद्योगबाट उत्पादित पानी विक्री वितरण गर्न दिनु पर्ने सर्वसाधारणको माग छ । प्रशोधित पिउने पानीमै जिउँदो जुका भेटिएको सम्बन्धमा कुरा गर्न वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिलाई सम्पर्क गर्दा घण्टी बजेपनि फोन उठेन ।

Translate »