सिफारिस र स्विकृतीविनै ४६ लाख भुक्तानी

स्काई न्यूज / साउन २३,दैलेख ।
डिभिजन वन कार्यालय दैलेखले सम्बन्धित नगरपालिकाको सिफारिस र स्विकृतीविना नै संस्था छनोट गरी रू. ४६ लाख ८२ हजार रकम भुक्तानी दिएको पाइएको छ । महमालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/७६ को प्रतिवेदन अनुसार स्विकृतिबिना नै उक्त रकम भुक्तानी गरेको पाइएको हो । जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ र २ मा तामाङ अल्लो प्रशोधन उद्योग स्थापना गर्न रू.५० लाख बजेट विनियोजन गरेकामा उक्त रकम स्विकृतिबेगर भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । डिभिजन वन कार्यालय दैलेखमा अल्लो प्रशोधन उद्योग स्थापनाका लागि दर्ता भएका मौजुदा १०६ ओटा उद्योग मध्येबाट छनोट नगरी अल्लो प्रशोधन गर्ने कार्यको अनुभव नै नभएको र सम्बन्धित नगरपालिकाको सिफारिस र स्विकृतिबेगर संस्था छनोट गरी निजी जग्गामा भवन निर्माण र सम्पत्ति खरीद कार्य भएको प्रतिवेदनमा उल्लेख छ । कार्यालयले २०७२ असोज २२ गते वित्तीय सेवा प्रदान गर्ने कृषि तथा पशुपालन सहकारी संस्थालाई रू. ४६ लाख ८२ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘उक्त अनुदान प्राप्त सहकारीको स्वामित्वमा जग्गा नहुनुका साथै व्यक्तिको जग्गामा सहकारीको योगदान रू.९ लाख ४९ हजार रहने गरी रू. ३१ लाख ५१ हजारको भवन निर्माण सम्पन्न गरिएको छ ।’ उद्योगका लागि मेशिनरी औजार १० थान फलामे अटो हयान्डलुम, १ सेट कपडा पेल्ने मेशिन, जेकार्ड लुम १ थानलगायत सामग्री खरीद कार्यका लागि रू. १७ लाख ८४ हजारको बिल भर्पाइ र कार्य सम्पन्न पेश गरेको प्रतिवेदनले औंल्याएको छ । साथै उक्त संस्थाले अल्लो प्रशोधन कार्य सञ्चालनमा नल्याएको पनि प्रतिवेदनको ठहर छ । आर्थिक वर्ष ०७५/७६ मा भवन निर्माण तथा सामग्री खरीद समेत गरिसकेको उक्त सहकारी संस्थाले हालसम्म अल्लो प्रशोधन कार्य सञ्चालन नगरी उद्योग बन्द गरेको बताइएको छ ।‘अल्लो प्रशोधन उद्योगको भवन निर्माण गरिएको जग्गा व्यक्तिको नाममा भएकाले विगतदेखि विवादित भएको छ’, स्रोतले भने, ‘उद्योग अहिले विवादमा अल्झिएको छ, अहिलेसम्म कुनै पनि सामग्री उत्पादन भएका छैनन् । अहिले बन्द जस्तै छ ।’ उक्त तामाङ अल्लो प्रशोधन उद्योगले हालसम्म जिल्ला वन कार्यालयबाट अल्लो संकलनको इजाजत समेत नलिएको बताएको छ ।

Translate »