बजेट अभाव भएपछि भुक्तानीमा समस्या

स्काई न्यूज / साउन २१,रुकुम ।
अघिल्लो वर्ष गरेको कामको भुक्तानी १ वर्षपछि मात्रै हुने भएको छ । गत आर्थिक वर्षमा जिल्लाको आठबीसकोट नगरपालिका सहित जिल्लाका २ गाउँपालिकामा बजेट अपुग भएपछि गत वर्षको आर्थिक दायित्व यस वर्ष सरेको हो । बाँफिकोट र सानीभेरी गाउँपालिकाले पनि गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्तानी यस वर्ष दिने भएका छन् । ३ ओटै स्थानीय तहले गत वर्षका सबै विकास योजनाको भुक्तानी दिन सकेनन् । आठबीसकोट नगरपालिकाले रू.९ करोड, बाँफिकोट गाउँपालिकाले रू .२ करोड ४० लाख र सानीभेरी गाउँपालिकाले रू. १ करोड ७९ लाख गरी जम्मा रू.१३ करोड १९ लाख भुक्तानी गर्न बाँकी छ । वितेको आर्थिक वर्षमा भुक्तानी दिन नसकेका स्थानीय तहहरूले चालू आर्थिक वर्षमा सो भुक्तानी गर्ने बताएका छन् । गत आर्थिक वर्षमा विकास निर्माण, तलब ,भत्ता लगायत रकम अपुग भएको सानीभेरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपालसिं विष्टले बताएका छन् । उनका अनुसार संघ तथा प्रदेशबाट आउनुपर्ने राजस्व नआएका कारण पनि विकास योजनाको भुक्तानी दिन समस्या भएको जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा पनि केही स्थानीय तहको बजेट अपुग भएको थियो । गत आर्थिक वर्षमा आउनु पर्ने बजेट कोरोनाका कारण नआएकाले अपुग भएको आठबीसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले जानकारी दिइन् । उनले भनिन्, ‘अघिल्ला वर्षहरूमा पनि आउनु पर्ने बजेट नआउँदा समस्या हुँदै आएको थियो ।’ जिल्लाका ६ ओटा स्थानीय तहमध्ये मुसीकोट र चौरजहारी नगरपालिकामा भने गत आर्थिक वर्षको आर्थिक दायित्व सरेन । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बजेट नआउने निश्चित भएपछि नगरपालिकाले बजेट संशोधन गरेका कारण समस्या नआएको बताएका छन् । काम गर्ने क्रममा केही रकम नगरपालिकाकै र केही रकम प्रदेशको सञ्चित कोषमा फिर्ता भएको उनले जानकारी दिए । त्रिवेणी गाउँपालिकाले सबै खर्चको हिसाब हुन बाँकी रहेको बताएको छ ।

Translate »