कर्मचारी सञ्चय कोषको कर्जा भुक्तानी अनलाइनबाटै

साउन २०, काठमाडौं ।
कर्मचारी सञ्चय कोषले प्रदान गर्ने सरल चक्रकर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायत कर्जाको भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ । कोषले कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीमार्फत यस्तो सुविधा उपलब्ध गराएको हो । उक्त प्रणालीमार्फत कर्जा भुक्तानी गर्दा हिमालयन बैंक, माछापुच्छे बैंक तथा एनआइसी एशिया बैंकमा रहेको कोषको खातामा सोझै जम्मा हुने छ । यस्तै कोषबाट लिइएको अन्य विभिन्न शीर्षकका कर्जाहरूको भुक्तानी पनि कनेक्ट आईपीएसमार्फत नै गर्न सकिने बताइएको छ । साथै ग्राहकले अब कर्जा भुक्तानीका लागि कोषको कार्यालय वा बैंकहरूमा धाउन पर्ने अवस्थाको अन्त्य भएको छ । यसरी कर्जा भुक्तानी गर्न ग्राहकले कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणालीमा आवद्ध हुनु पर्ने छ । कर्मचारी सञ्चय कोष र नेपाल क्लियरिङ हाउसबीच यससम्बन्धी गत वर्ष साउनमै नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबारहरू गर्ने सम्झौता भएको थियो ।

Translate »