सल्यानका किसान मौरीपालनमा आकर्षित

स्काई न्यूज / साउन २०,सुर्खेत ।
सल्यानमा मौरीपालन व्यवसायमा किसानको आकर्षण बढेको छ । कम लगानी र खर्चमा मनग्गे आम्दानी हुन थालेपछि मौरीपालन व्यावसायिक बन्दै गएको हो । जिल्लाको कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिका लगायत क्षेत्रका किसानले व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् । अहिले जिल्लाभर १ हजार ५३० आधुनिक घारमा मौरीपालन भइरहेको कृषि विकास कार्यालय सल्यानले बताएको छ । कालीमाटी गाउँपालिका–२ झिंगानेका मौरीपालक किसान नेत्र लाल वलीले कम लगानी र खर्चमा नै उल्लेख्य आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा मौरीपालन गर्दै आएको बताए । केही वर्षयता व्यावसायिक रूपमै मौरीपालन गर्दै आएका उनले मौरीको मह तथा गोला विक्रीबाट वर्षेनि लाखौं आम्दानी गर्दै आएको उनको भनाइ छ । यस वर्ष मात्र मह विक्रीबाट साढे २ लाख आम्दानी भएको उनले जानकारी दिए, जसका लागि २ क्वीन्टल मह उत्पादन भएको थियो । यस्तै १५० घार मौरीका गोला विक्रीबाट करीब ५ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ छ ।
उत्पादन घट्यो
जिल्लामा गत आर्थिक वर्ष मह उत्पादनमा कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा जिल्लाभर १९ मेट्रिक टन मह उत्पादन भएको थियो । तर गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा मह उत्पादनमा कमी आएर १० दशमलव ५ मेट्रिक टन मात्रै मह उत्पादन भएको कृषि विकास कार्यालयले बताएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ४४ प्रतिशतले कमी आएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए । मौरीको मुख्य चरण मानिएको चिउरी फूल्ने समयमा लगातार वर्षात् भएकाले मौरी जंगलमा चर्न जान नपाएपछि मह उत्पादनमा कमी आएको उनको भनाइ छ । जिल्लाका किसानले उत्पादन गरेको करीब ६० प्रतिशत मह जिल्लामै खपत हुने गर्दछ ।
ब्लक र पकेट क्षेत्र कार्यक्रम सञ्चालन
मौरीको चरण क्षेत्र राम्रो भएको र मह पनि वर्षेनि राम्रो उत्पादन हुने भएपछि जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा मौरी ब्लक र मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी बस्नेतले रू. ३९ लाख ५० हजारबाट मौरी ब्लक र रू. ३ लाखबाट पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार कालीमाटी गाउँपालिकाका–१, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिका–३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई व्यावसायिक मौरीपालनतर्फ आकर्षित गर्ने र यस व्यवसायलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले मौरी ब्लक र पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । मौरी ब्लक कार्यक्रमबाट ७५ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । ब्लक क्षेत्रमा ७०० ओटा आधुनिक खाली घार वितरण गरिएको छ । यस्तै ४०० ओटा मौरीका गोला, दशओटा महदानी, फलामका घार स्ट्याण्ड लगायत सामग्री वितरण गरिएको छ । यसबाट किसानहरू मौरीपालनको व्यावसायिकता विकासमा टेवा पुगेको छ । यस्तै मौरी पकेट क्षेत्र कार्यक्रम मार्फत २२ घरधुरी लाभान्वित भएका छन् । त्यहाँ पनि ८५ घार मौरीका गोला वितरण गरिएको छ । यस्तै अन्य उपकरण पनि वितरण गरिएको कार्यालयको भनाइ छ ।

Translate »