लकडाउनमा करीब रू. ३ करोडको तरकारी विक्री

स्काई न्यूज / साउन २०, सल्यान ।
लकडाउनका कारण सबै क्षेत्र धराशयी बनेका बेला सल्यानको कपुरकोटमा भने किसानले उत्पादन गरेको तरकारीले राम्रो बजार पाएको छ । बेमौसमी अग्रानिक तरकारीले प्रख्यात कपुरकोटबाट डेढ महीनाको अवधिमा पौने ३ करोड रूपैयाँको तरकारी विक्री भएको छ । गत जेठ २० गतेदेखि हालसम्म रू. २ करोड ८८ लाख १५ हजार बढीको तरकारी विक्री भएको कृषि उपज बजार केन्द्रले बताएको छ । यो अवधिमा रू.९ लाख ६८ हजार ५९७ किलो बेमौसमी तरकारी जिल्लाबाहिर निकासी भएको कृषि उपज बजार केन्द्र कपुरकोटका सचिव तिलक शर्माले जानकारी दिए । उनका अनुसार त्यसअघिको ‘बेमौसमी सिजन’मा यहाँका किसानले रू. २१ करोड ६९ लाख १९ हजार ९९९ को तरकारी विक्री गरेका थिए । अघिल्लो जेठदेखि कात्तिक सम्मको अवधिमा किसानहरूले ३४ हजार ७२४ क्वीन्टल तरकारी विक्री गरेका थिए ।
व्यापारी र श्रमिक सूचीकृत हुनुपर्ने
सचिव शर्माका अनुसार तरकारी विक्री गर्ने किसान, व्यापारी तथा लोड–अनलोड गर्ने श्रमिकहरूले कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका नियमहरू पूर्णरूपमा पालना गर्नुपर्छ । पीसीआर अथवा आरडीटी परीक्षणको रिपोर्टसहित बजार केन्द्रमा सूचीकृत भएपछि मात्रै कपुरकोट क्षेत्र आउन र तरकारी लैजान पाउने छन् । ‘स्थानीय र विभिन्न शहर बजारका १९ जना व्यापारीहरू अहिले हामीकहाँ सूचीकृत हुुनुभएको छ’, शर्माले भने, ‘यहाँ कोरोना नभएको रिपोर्ट लिएर आएपछि उहाँहरूलाई तरकारीको कारोबार गर्न अनुमति दिने गरिएको छ । ’तरकारीखेतीलाई मुख्य पेशा बनाएका किसानहरू लकडाउनको बेला पनि उत्पादित वस्तु विक्रीको वातावरण बनेपछि खुशी देखिएका छन् । किसानको उत्पादनलाई विक्री वितरणको सहज वातावरण कपुरकोट गाउँपालिका र कृषि उपज बजार केन्द्रले बनाएको हो । ठूलो परिमाणमा उत्पादन हुने कपुरकोट क्षेत्रको तरकारी बुटवल, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत प्रमुख शहर तथा बजारमा निर्यात भइरहेको कृषि उपज बजार केन्द्र कपुरकोटले बताएको छ ।

 

Translate »