जारको पानीमा लेउ भेटियो

बजार अनुगमन समिति मुद्धा चलाउने तयारीमा

स्काई न्यूज/ साउन १९, सुर्खेत ।
सुर्खेतमा सर्वसाधारणले दैनिक रुपमा उपभोग गर्ने जारको पानीमा लेउ भेटिएको छ । देउती दर्शन वाटर वेभरेज इण्डष्ट्रिज प्रालिले उत्पादन गरेको सिजन्स पानीको जारमा लेउ भेटिएको हो ।  वीरेन्द्रनगर–११, का उपभोक्ता जीवन आचार्यको आमाको क्रियाकाजमा बसेकालाई शुद्ध पानी पिलाउन ल्याईएको जारमा लेउ भेटिएपछि गुनासो सुन्न पानी उद्योगलाई खबर गर्दा समेत अटेरी गरेको खबर जिल्ला प्रशासन कार्यालय आईपुग्यो ।  सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तत्काल खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाको नेतृत्वमा संयुक्त बजार अनुगमन समिति परिचालन गरे । प्रजिअको निर्देशन अनुसार अनुगमन समितिले सोमबार वीरेन्द्रनगर–११ स्थित आचार्यको घरबाट लेउ लागेको पानीको जार बरामद गरि सिल गरेको छ । उक्त पानी जार उत्पादक उद्योगलाई मुद्धा चलाउने तयारी भएको अनुगमन समितिको नेतृत्व गरेका खाद्य प्रविधि कार्यालयका प्रमुख थापाले बताए । उनले वरामद लेउ लागेको जारलाई नेपालगञ्ज प्रयोगशालाबाट आउने रिपोर्टका आधारमा कस्तो प्रकृतिको मुद्धा चलाउने भन्ने यकिन हुने जनाए ।

‘जारमा खान नमिल्ने स्पष्ट बाहिरबाटै लेउ देखिएपछि हामीले सिल नतोडेका हौं,’ वीरेन्द्रनगर–११, का उपभोक्ता जीवन आचार्यले भने, ‘हामी आमाको दुःखमा बसेको बेला जारको सफा पानी खानुपर्छ भनेर जार मगायौं, लेउ भेटिएपछि कम्पनीलाई पटक पटक जानकारी गराउँदा अटेरी ग¥यो । मूल्य चुकाउँदा पनि सही वस्तु नपाउँदा उपभोक्ताको स्वास्थ्य माथि ठूलो खेलवाड भएको महसुस गरेर जारमा लेउ भेटिएको सार्वजनिक गरेका हौं ।’ यता पानी उद्योगका सञ्चालक भीम भण्डारीले काम गर्ने क्रममा गल्ती भएको हुन सक्ने स्विकार गर्दे आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरे । ‘उद्योगमा सबै आवश्यक मापदण्ड पुरा गरि बजारमा पानी पठाउने गरेको छौं,’ उनले भने, ‘यो कसरी हुन पुग्यो, हाम्रै प्रतिद्वन्द्वी पानी उद्योगले समेत यस्ता खालका षड्यन्त्र गर्ने भएकाले अनुगमन टोलीलाई सहयोग गर्दै आगामी दिन थप सचेत हुने छौं ।’ यता हेर्दा सामान्य लाग्ने तर सर्वसाधरणको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने जारको पानी बजारमा जताततै रहेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । ‘पानीमा लेउ, किरा, धमिलोपन, कोलिफर्म भेटिनेक्रम सुर्खेतमा जारी छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकले भने, ‘कोरोना संक्रमण रोकथाम नियन्त्रणका कारणले बजार अनुगमन अलि ढिलाई भएको छ । पानी जस्तो महत्पूर्ण पेय शुद्ध कहिले हुने ? उपभोक्ताले कहिले शुद्ध पानी पिउन पाउने ? ‘सर्वसाधारणको स्वास्थ्यप्रति सरकार र पानी उद्योगहरु गैरजिम्मेवार रहेका छन् ।’


बजारमा गएका ९० प्रतिशत जार कुच्चिएको, जार एउटा कम्पनीको र ट्याग अर्को कम्पनीको भेटिन्छ । बिर्कोमा सिलबिनानै जारको पानी बजारमा पुगेको छ । कतिपय जारको बिर्को फुटेको जस्ता समस्या जस्ताको तस्तै रहेको सर्वसाधारणको गुनासो छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ बनेको छ । उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न, स्वच्छ र गुणस्तरीय प्रशोधित पिउने पानीको उत्पादन र बिक्री–वितरण कार्यलाई व्यवस्थित गर्न निर्देशिका ल्याए पनि प्रभावकारी रुपमा लागू भएको छैन । वीरेन्द्रनगर–३, मा रहेको जयश्री प्रशोधित पिउने पानी उद्योगको समेत अनुगमन टोलि अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालनमा रहेको पाएको थियो । उक्त उद्योगले अवको ३ दिनमा सुधार नगरे आवश्यक कानूनी कारवाही भोग्न स्वयं तयार रहेको प्रतिवद्धता जनाएपछि अनुगमन टोली कागज गरेर छोडेको छ ।


उपभोक्तालाई सचेत हुन आग्रह
शुद्ध पिउने पानी आम मानिसका लागि आधारभूत आवश्यकता हो । तर, सुर्खेतमा शुद्ध पिउने पानीको चरम अभाव छ । यही अभाव टार्न र शुद्ध पिउने पानीको सहज आपूर्ति बनाउन धेरै पानी उद्योगले पानी उत्पादन गर्दै आएका छन् । तर, यस्ता कम्पनीले प्रशोधन नगरिएको पानी बजारमा पठाएर उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरिरहेका छन् । त्यसोत, धारामा आउने पानी शुद्ध नभएपछि सुर्खेतबासी जारको पानी पिउन बाध्य छन् । प्रशोधन गरिएको भनिने जारको पानीबाट पनि उपभोक्ता ठगिने गरेका छन् । अहिले सुर्खेतमा मात्र दर्ता भएका करिब आधा दर्जन पानी उद्योग खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएर सञ्चालनमा छन् । ती मध्ये कतिपय उद्योग सरकारले तोकेको न्युनतम् मापदण्ड पुरा गर्न नसक्दा दर्तापछि नविकरण नै हुन सकेका छैनन् ।  बजारमा बिक्री गर्न राखिएका जारको पानीलाई प्रतिजार ७० रुपैयाँ तथा बोत्तलको पानीलाई २५ देखि ५० रुपैयाँ सम्म उपभोक्ताले मूल्य चुकाउँदै आएका छन् । उद्योगी तथा बिक्रेताले मनपरी रुपमा पानीको मूल्य लिने गरेका छन् । गुणस्तरमा पनि ध्यान नदिँदा विभिन्न रोग फैलन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यो वर्षातको मौसममा त पिउने पानी शुद्ध नभए धेरै सरुवा रोग लाग्न सक्छ । उपभोक्ताको स्वास्थ्यका बारेमा पानी वितरक कम्पनीले ध्यान दिएको पाइँदैन । यहाँका सबै बोरिङको पानी जारमा हालेर बजार पठाउने गरेको पनि गुनासो आउने गरेको छ । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले भने पानी आपूर्ति गर्ने उद्योगहरुको नियमित अनुगमन गरिरहेको बताएको छ । त्यसोत, सुर्खेतमा दैनिक एक लाख लिटर पानीको बिक्री हुँदै आएको अनुमान छ । यसरी बेचिएको पानीमा सावधानी नअपनाएर पानीकै कारण सरुवा रोगले महामारी फैलाउन सक्छ । त्यसतर्फ सरोकारवाला निकायले विशेष ध्यान दिनु जरुरी छ ।


सुरक्षित छैन जारको पानी
सरकारले नियमनमा कडाइ नगर्दा उपभोक्ता ठगिन बाध्य छन् । ‘सरकारले लाइसेन्स दिने तर निरन्तर अनुगमन र नियमन नगर्दा व्यापारीले अनुचित फाइदा उठाइरहेका छन’, राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाश तारा बयक भने । कतिपय व्यापारीले धारा, बोरिङलगायतका पानी बिनाप्रशोधन जारमा भर्ने गरेको आरोप लाग्दै आएको छ । वीरेन्द्रनगरमा करिब आधा दर्जन सरकारबाट लाइसेन्सप्राप्त पानी उद्योग छन् । सुर्खेतका उपभोक्ताकर्मीले सरकारले कहिलेकाहीं देखावटी रुपमा अनुगमन गरे पनि कारबाही नगर्दा व्यवसायीले दूषित पानी वितरण गरिरहेको आरोप लगाए । प्रदेश अस्पतालका अुनसार पछिल्लो समय दूषित पानी सेवनकै कारण बिरामी भएर सर्वसाधारण आउने गरेका छन् । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले वर्षायाम शुरु भएसँगै विरामी बालबालिका तथा महिलाको संख्या दूषित पानी सेवनकै कारण बढ्दै गईरहेको बताए । दूषित पानीका कारण झाडाबान्ता, पखाला, आउँ, हेपाटाइटिस ‘ए’ र ‘ई’ जस्ता रोग लाग्ने गरेको छ । ‘वर्षायाममा उपभोक्ता बढी नै सचेत हुनु जरुरी छ’, उनले भने । अन्य अस्पतालमा पनि पानीकै कारण बिरामी भएका व्यक्ति जाने हुँदा यस्ता बिरामीका संख्या अझै बढ्ने चिकित्सकको दाबी छ । वीरेन्द्रनगरका अधिकांश ठाउँका उपभोक्ता खुला पानीको स्रोतमा भर पर्नुपर्ने अवस्था छ । यसो हुँदा उमालेर पानी पिउनु उपयुक्त विकल्प भएको चिकित्सकहरुको सल्लाह छ ।

Translate »