कर्णालीमा सधै पहिरोको सन्त्रास

योजना बन्छ, कार्यान्वयन हुँदैन

स्काई न्यूज /साउन १८, सुर्खेत ।
वर्षा शुरु भएसँगै कर्णालीका पहाडी जिल्लामा पहिरोको जोखिम बढने गरेको छ । पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाको कारण वर्षायाममा पहिरोले जनधनको क्षति गर्दे आएको छ । बाढी र पहिरोका कारण एक महिनाको अवधिमा ४४ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसोसम्मको अध्यावधिक तथ्यांकअनुसार जाजरकोटमा १५ जना, कालीकोटमा २२ जना, रुकुम–पश्चिममा ४ जना, सुर्खेत, दैलेख र सल्यानका एक/एकजनाको बाढी र पहिरोमा परी मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले बताएको छ । बाढी पहिरोमा परेर प्रदेशमा ९ जना अझै बेपत्ता छन् । कालीकोटमा ६ जना र जाजरकोटमा ३ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । यो अवधिमा पहिरोमा परेर २५ जना घाइते भएका छन् । बाढीपहिरोले कालीकोटमा १ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । ५ सय घरहरुमा आशिंक क्षति पुगेको छ । पहिरोले रास्कोट नगरपालिकाका २९ वटा खानेपानी स्किम बाढी पहिरोले बगाएको छ भने १४ वटा सिँचाई कूलो भत्काएको नगर प्रमुख काशीचन्द्र बरालले बताए । नगर प्रमुख बरालकाअनुसार रास्कोटमा मात्र ३ सय ६० परिवार विस्थापित भएका छन् । बाढीपहिरोले कर्णाली करिडोरको फुगाडमा हालिएको बेलिब्रिज क्षतिग्रस्त छ । गाउँ पुग्ने सडक पनि सबै अवरुद्ध छन् । त्यस्तै बाढी पहिरोले नरहरिनाथ गाउँपालिकामा ४ सय ९४ घर परिवार विस्थापित भएको पालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनकाअनुसार ८ सय ८५ घर पहिराको जोखिममा छन् । गाउँपालिकामा २१ घर पहिरोले भत्किएका छन् । त्यस्तै, नरहरिनाथमा २ सय ३२ घरधुरी विस्थापित देखाएको छ । सान्नी त्रिवेणीमा गाउँपालिका उपाध्यक्ष होइजा बुढाले ५० घरका १ सयभन्दा बढी विस्थापित भएको बताईन् । उनीहरु केहीलाई विद्यालयमा राखिएको छ केहीलाई पाल टाँगेर जंगलमै राखिएको छ । विस्थापितलाई राहत र व्यवस्थापन गर्ने काम स्थानीय तहहरुले गरिरहेका छन् ।


सरकारको तयारी कागजमै सीमित
प्रायः भूभाग विकट रहेको कर्णालीका १० वटै जिल्ला बाढी वा पहिरोको जोखिममा छन् । तर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम रहे पनि प्रदेश सरकारको पूर्वतयारी शून्य जस्तै छ । प्रदेश सरकारले बाढी, पहिरोलगायत विपद्को पूर्वतयारीका लागि भन्दै गरेका एक दर्जन निर्णय पनि सीमित छन् । गत असार २९ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रदेशमा बाढी, पहिरोको जोखिममा रहेकाहरुलाई मनसुन अवधिभर सुरक्षित स्थानमा सार्नेदेखि प्रदेशका ७९ वटै स्थानीय तहमा विपदमा परेकाहरुको तत्काल उद्दारका लागि ‘टास्क फोर्स’ गठन गर्ने निर्णय ग¥यो । तर १९ दिन बित्दा पनि निर्णयहरु कागजमै सीमित छन् । विपदमा परेकाहरुको तत्काल उद्दारका लागि गठन गर्ने भनेको ‘टास्क फोर्स’बारे आफूलाई कुनै जानकारी नभएको वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहाक नगरप्रमुख मोहनमाया ढकालले बताइन् । ‘नगरपालिकामा आफ्नै तरिकाले नगरस्तरीय विपद् व्यवस्थापन टिम गठन गरेका छौं । तर प्रदेश सरकारले गठन गर्ने भनेको ‘टास्क फोर्स’ बारे कुनै पनि जानकारी आएको छैन,’ उनले भनिन् ।


जथाभावी डोजर प्रयोगले जोखिम
पहिरोको उच्च जोखिममा अधिकांश जिल्लाका गाउँ नै रहेका छन् । अहिले पनि पहिरोको कारण धेरै परिवार बिस्थापित हुनुका साथै सयौ घर जोखिममा छन् । विकासका नाममा गाउँगाउँमा सडक पुु¥याउने भन्दै मेसिनले सडक काट्ने क्रम बढेपछि वर्षामा पहिरोको जोखिम बढेको हो । पहाडी क्षेत्रमा जथाभावी डोजर चलाउँदा बढी जोखिम देखिएको छ । गाउँगाउँ सडक पु¥याउने भन्दै स्थानीय तहदेखि प्रदेश र संघले सडक खन्न थालेपछि कर्णाली पहिरोको जोखिममा परेको हो । कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढदै गएको छ । पहिरोकै कारण बर्सेनि मानवीय क्षति गर्नुका साथै खेतीयोग्य जमिनसमेत बगाउने गरेको छ । वर्षा शुरु भएपछि यहाँका स्थानीय सधैं चिन्तामा हुन्छन् । कम वर्षा हुँदासमेत पहाडको माथिबाट खस्ने पहिरोले जोखिम निम्ताएको कालिकोटका रमेश बमले बताए । बढी वर्षा हुँदा पहिरोको त्रासले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । जथाभावी सडक खनेपछि आएको पहिरोले जिल्लाको खानेपानी र सिँचाइ सञ्जालमा क्षति पुगेको छ । राज्यकै संयन्त्रहरूबाट जथाभावी डोजर चलाएर सर्वसाधारणको उठिबास लगाउने काम हुने गरेको छ । जथाभावी सडक खन्दा कालिकोट र जारजरकोटमासयौ रोपनी खेतीयोग्य जमिन उजाड बनेको छ । एउटै गाउँ पुग्न दुई÷तीन सडक खनिएका छन् । जाजरकोटका पत्रकार बद्री पन्तले भने ‘राजनीतिक पहुँचका कारण पार्टीपिच्चे अलगअलग सडक खनेकाले गाउँमा पहिरोको जोखिम छ ।’ बर्सेनि खेतीयोग्य जमिन पहिरोले पुर्दै आएको छ । जथाभावी डोजरले सडक खनिएपछि पहिरोको जोखिम बढेको हो । पानी पर्दा गाउँ माथिबाट ढुंगा र पहिरो खस्ने सम्भावनाले सधै त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनले बताए । पछिल्लो समय वातावरणीय प्रभावको विश्लेषण नगरी डोजर लगाएर सडक खन्ने काम तीव्र रुपमा भइरहेका कारण पहिरोको खतरा बढेको छ । वन क्षेत्र र खेतीयोग्य जमिनमा सडक काटिएको स्थानीय बताउँछन् ।


एक सातादेखि राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण एक दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध भएको छ । अवरुद्ध सडक समयमै खुलाउन नसक्दा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । राजमार्गको कालीकोट सडकखण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैंसीगौडा, टिमुरे भिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायतका दर्जनौं स्थानमा पहिरो गएपछि करिब एक सातादेखि राजमार्ग अवरुद्ध भएको थियो । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सुचारु हुन नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ओलियाले जानकारी दिए । ‘कालेखोला, दहिखोलालगायतका स्थानमा डोजर लगाएर सडक खोलिसकेको छ,’ उनले भने, ‘आज पिली सडकको पहिरो हटाउने काम भईरहको छ । आजका दिनसम्म सडक खुल्छ होला ।’ जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले कालीकोटको टाकुल्ला खोलादेखि जुम्लासम्मको सडक खण्ड सुचारु भएको बताए । राजमार्गको स्तरवृद्धि हुन नसक्दा यहाँका नागरिकले बर्सेनि यही समस्या भोग्दै आईरहेका छन् । जुम्लाका उद्योगी महेन्द्र थापाले राज्यको नेतृत्व गर्नेहरुको कमजोरीका कारण कर्णालीबासी प्राकृतिक विपद्को शिकार हुनुपरेको बताए । उनले वैकल्पिक मार्ग निर्माण नभएसम्म यो समस्या सजिलै नटर्ने जनाए । ट्राभल व्यवसायी भानु देवकोटाले मुलुक संघीयतामा गईसके पनि कर्णालीका नागरिकले ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिन टर्न नसकेको दुःखेसो पोखे । कालिकोट खाँडाचक्र नगरपालिका ६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारहरुले सडक स्तरोन्नतीमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुहरुले पटक पटक दुःख भोग्नुपरेको गुनासो गरे । उनले चार दिनसम्म सडक अवरुद्धमा पर्दा ७० हजार रुपैयाँको तरकारी कुहिएर खेर गएको जनाए ।

Translate »