बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा

साउन १८,नेपालगन्ज ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । यातायात साधन चलेका छैनन् । बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएकाले थप फैलन नदिन तथा रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन दिनसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश भएको उनले बताए ।स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । बिहीबार मात्र बाँकेमा ११ कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको थियो ।

Translate »