पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

स्काई न्यूज /साउन १७, सुर्खेत ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिवार मध्यरातबाट लागू हुनेगरी डिजेल,पेट्रोल तथा मट्टीतेल सवैमा प्रतिलिटर रू. २ का दरले मूल्य बढाएको निगमले बताएको छ । समायोजन मूल्य अनुसार काठमाडौं उपत्यकाको हकमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रू. ९० पर्ने छ भने र पेट्रोलको प्रतिलिटर रू.१०४ हुने भएको छ । उता खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले बताएको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ । आयल निगमले अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको उल्लेख गर्दै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको बताएको छ । गत असार २६ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा रू.१ का दरले मूल्य बढाएको थियो ।

Translate »